झापा, भदौ १ । नेपाली आरोही सुशील सेर्माले रसियाको माउन्ट एल्ब्रुस हिमालमा नेपालको झन्डा फहराएका छन् ।

५ हजार ६ सय ४२ मिटर उचाइको उक्त चुचुरोमा सेर्माले बिहीबार बिहान ५ः१५ बजे नेपाली झन्डा फहराएका हुन् । सेर्मा उक्त हिमाल आरोहणका लागि नेपालबाट गत साउन २६ मा रसिया गएका थिए । काठमाडौंदेखि मस्को हुँदै मिनिटल्नी बोधे भन्ने ठाउँसम्म हवाई मार्गबाट गएका सेर्मा ६ घण्टा पैदल यात्रापछि आजाउ पुगेका थिए । त्यहाँ उनले तेसकोल हुँदै छिकेद पिकसम्म आरोहण अभ्यास गरेका थिए । सेर्माको टोलीमा नेपाली गाइड चतुरमान तामाङ र रसियन गाइड डेनिससहित त्यहाँका तीनजना आरोही गरी ५ जना थिए ।

आजाउ नजिकैको माउन्टेन हटदेखि बुधबार मध्यरात माउन्ट एल्ब्रुसका लागि प्रस्थान गरेका उनले सफलतापूर्वक आरोहण गरेको त्यहाँको ट्रेकिङ एजेन्सी चतुर ट्रेक एण्ड एपेण्डिचर प्रालिले जनाएको छ । सेर्माले यसअघि सर्वोच्च शिखर सगरमाथासहित लाङटाङ र आइसल्याण्ड पिकको सफल आरोहण गरिसकेका छन् । उनी पाँचथरका बासिन्दा हुन् । उनले नेपालको होचो भूभाग केचनकवलदेखि विश्वको तेस्रो हिमाल कञ्चनजंघा बेस क्याम्पसम्मको पैदल यात्रा पनि गरेका थिए । रसियाको हिमाल आरोहणका क्रममा त्यहाँका नागरिकलाई सगरमाथा र लुम्बिनी जस्ता धार्मिक र पर्यटकीय स्थल भ्रमणको निम्तो दिएको उनले बताए । सेर्माले यसपछि तान्जानियाको किलि मन्जारो हिमाल आरोहण गर्ने योजना छ । ७ वटा महादेशका ७ वटै अग्ला हिमाल आरोहण गर्दै विश्व शान्ति, मानव एकता र नेपालको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने योजना रहेको सेर्मा सुनाउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्