झापा, भदौ २ । शिवसताक्षी नगरपालिकाका नगर प्रमुखले उपप्रमुखलाई बायस गरेर वडाध्यक्षलाई कार्यबाहक जिम्मेवारी दिँदा उत्पन्न विवाद सल्टिएको भोलिपल्ट कमल गाउँपालिकामा पनि त्यस्तै विवाद भएको छ ।

कमल गाउँपापालिकाका अध्यक्ष हुकुमसिंह राईले उपाध्यक्ष प्रमिला तिवारी हँुदाहुँदै ऐनविपरित वडा नं २ का वडाध्यक्ष अशोक सुब्बालाई कार्यवाहकको जिम्मेवारी दिएर जापान भ्रमणमा गएका छन् । कार्यालयको काम विशेषले भदौ १ गतेदेखि आफू नआएसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी पुरा गर्न भनी लेखिएको सो पत्रमा मिति पनि गलत लेखिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले टाईप मिस्टेक भएर मिति मिस्टेक भएको र कार्यवाहक अध्यक्षको जिम्मेवारी वडाध्यक्ष सुब्बालाई दिएको जानकारी दिए। उपाध्यक्ष तिवारीले ऐनबिपरित जिम्मेवारी दिइएको बिषयमा उजुरी हाल्ने बताएकी छन् ।

यसअघि शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्रा रोशनले साउन ३१ देखि भदौ ५ सम्म ७ दिनका लागि कार्यबाहक नगरप्रमुखको जिम्मेवारी वडाध्यक्ष विष्णु प्रसाईलाई दिएका थिए । व्यापक आलोचना भएपछि वडाध्यक्ष प्रसाईलाई शनिवार अर्थात ४ दिनमै कार्यबाहकको जिम्मेवारीबाट हटाइएको हो । शनिवार विदा परेकाले उनले तीन दिन मात्र कार्यबाहक भएर नगरपालिका चलाउन पाएका छन् ।

जापानमा रहेका नगरप्रमुख थोप्राले प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईलाई वडाध्यक्ष प्रसाईलाई शनिवारसम्म मात्र कार्यबाहकको जिम्मेवारी दिनु भन्ने पत्र पठाएको उपप्रमुख नरमाया कार्कीले बताइन् । वडाध्यक्षको कार्यबाहक सकिएपछि पदको हिसावले उपप्रमुख कार्कीले स्वतः कार्यबाहक भएर चलाउन पाउने नियम रहेको बताइएको छ । जापान भ्रमणमा गएका नगर प्रमुख थोप्राले साउन ३१ देखि भदौ ५ सम्म ७ दिनका लागि शिवसताक्षी वडा नम्बर ४ का वडाध्यक्ष प्रसाईँलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले विशिष्ट अधिकार र कामको जिम्मेवारीमा नगरपालिका तथा गाउँपालिकाका प्रमुख वा अध्यक्ष सात दिनभन्दा बढी अनुपस्थित भएमा उप–प्रमुख वा उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने लेखिएको छ । यदि उपप्रमुख वा उपाध्यक्ष पनि अनुपस्थित भएमा कार्यपालिकाको एक सदस्यलाई जिम्मेवारी दिन सकिने प्रावधान छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्