रोङ, भदौ ३ । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले इलामको रोङ गाउँपालिका वडा नं. २ मा रहेको शान्तिपुर माविका बालबालिकाहरुलाई ट्रयाकसुट वितरण गरेको छ ।


झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले संस्थाको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रोङ गाउँपालिकाको सहजीकरणमा उक्त सहयोग गरेको हो ।
रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोको प्रमुख आतिथ्यमा विद्यालय प्राङ्गणमा आइतबार आयोजित विशेष कार्यक्रममा कक्षा १ देखि ७ सम्म अध्ययन गर्ने ६३ जना नियमित विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको हो ।

कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधान, सचिव भूपाल बस्नेत, सञ्चालक समिति सदस्य गुञ्जन थापा, विभागीय प्रमुखहरु मनहरि निरौला र लक्ष्मीनारायण भट्टराईले संयुक्तरुपमा उक्त सामग्री विद्यार्थीलाई हस्तान्तरण गरेका हुन् ।
सोही अवसरमा रोङ गाउँपालिका वडा नं. २ को तर्फबाट वडाध्यक्ष चन्द्रशेखर घिमिरेले विद्यालयका लागि एकथान नेटसहितको भलिबल र एकथान फुटबल हस्तान्तरण गरे ।

ग्रामीण भूगोलमा वि. सं. २००८ सालमा स्थापित सो विद्यालयमा हाल कक्षा १२ सम्म पठनपाठन हुने र २०० जना विद्यार्थीहरु अध्ययनरत रहेको प्रधानाध्यापक महेन्द्र पोखरेलले जानकारी दिएका छन् ।
सो कार्यक्रममा मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष स्याङ्बोले चालू आर्थिक वर्षभित्रै नीति बनाएर विद्यार्थीमाझ दैनिक एक रुपैयाँ बचत कार्यक्रम सञ्चालन गर्ने जानकारी गराए ।

कार्यक्रममा कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधान, सचिव भूपाल बस्नेत, गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया खवास, वडा नं. २ का वडाध्यक्ष चन्द्रशेखर घिमिरे, पालिका शिक्षा शाखा प्रमुख श्रुतीकुमारी तामाङले मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्तिमाया राईको अध्यक्षतामा आयोजित कार्यक्रममा चन्द्र लकान्द्रीले स्वागत मन्तव्य र सञ्चालन विद्यालयका शिक्षक पृथ्वी कार्कीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्