झापा , भदौ ४ । सभामुखको जिम्मेवारीमा समेत रहेकी उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै काठमाडौं गएपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रदेशसभाको बैठक सोमबार अन्योलमा परेको छ ।


मुख्यमन्त्री थापाले शुक्रबार विश्वासको मत लिने सूचना दिएपछि उपसभामुख दनुवारले सोमबार दिउँसो १ बजे छलफलका लागि प्रदेशसभामा पेस गर्न समय तोकेर बिरामीको बहाना बनाइ अनुपस्थित भएको गठबन्धन दलको आरोप छ ।
उपसभामुख दनुवारले आफैंले सोमबार बिहान बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक अध्यक्षता गर्ने व्यक्तिको अभावमा बस्न नसकेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए । उनले उपस्थित कार्य व्यवस्था समिति सदस्यहरूको बैठकले कानुनी परामर्श गरेर कसको अध्यक्षतामा बस्ने सल्लाह गरेर अपराह्न १२ः१५ बजे पुनः बैठक बस्ने निर्णय भएको उनले बताए ।

उपसभामुख दनुवारले सभामुख र उपसभामुख अनुपस्थित भएको अवस्थामा अध्यक्ष मण्डलका सदस्य कांग्रेसका इस्राइल मन्सुरीलाई अध्यक्षता गर्नु भनेर प्रदेशसभा सचिवालयमा सूचना दिएर काठमाडौं गएकी हुन् । उपसभामुख दनुवारले आफैंले अध्यक्ष मण्डलका एमालेकी मालती सुब्बा लिम्बू र राप्रपाका अमरबहादुर विष्टसँगै एमालेका ५ जना ज्येष्ठ सदस्यलाई अनुपस्थितको सूचनामा तोक लगाएर आफू पनि अनुपस्थित भएकी हुन् । तर उपसभामुखलाई अध्यक्षता गर्ने व्यक्ति तोक्ने कानुनी अधिकार नभएको सत्तारूढ गठबन्धन कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बताए ।

प्रदेशसभा बैठक कसरी बस्ने वा नबस्नेलगायतका विषयमा कार्य व्यवस्था समितिको अब बस्ने बैठकले निर्णय गर्ने उनले बताए । तर अध्यक्षता गर्ने व्यक्तिको विवादले प्रदेशसभा बैठक अन्योल भएको गठबन्धन दलका सांसदको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्