झापा, भदौ ४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार नै विश्वासको मत लिने भएका छन् ।
प्रदेशकी उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै बिदामा बसेपछि कोशी प्रदेशसभाका अध्यक्षमण्डलका सदस्य इसराइल मन्सुरीले बैठक सञ्चालन गर्ने भएका छन् ।
उपसभामुख दनुवार र अध्यक्षमण्डलका सदस्यद्वय एमालेकी मालती सुब्बा लिम्बू र अमरबहादुर बिष्ट अनुपस्थित भएकाले मन्सुरीको अध्यक्षतामा प्रदेशसभा बैठक बस्ने भएको हो । उपसभामुख दनुवार पनि मन्सुरीलाई नै बैठक सञ्चालनको अधिकार दिएर काठमाडौं गएकी हुन् ।
कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री थापाले सोमबार नै विश्वासको मत लिने निर्णय भएको कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिए । प्रमुख सचेतक राईका अनुसार अध्यक्षता गर्ने मन्सुरीले समेत गठबन्धनका पक्षमा मत हाल्नेछन् । मन्सुरीको मतसहित आफूहरूले प्रदेशसभामा बहुमत सिद्ध गर्ने राईले दाबी गरे ।