सादर निमन्त्रणा ।।। स–परिवार
श्रीमान–श्रीमती–सुश्री–श्री…………….ज्यू ।
अन्तरे बासस्थान झापा । घरको दैलोबाट भित्र छिराई राखेको निमन्त्रणा, घरमुली भेटेर हातैमा दिएको, कुनै कुनै घर कम्पाउण्डमा छाडिएको । फलामे गेटको च्यापमा सिउरिएको । निम्तोको प्राप्ति फरक शैली र फरक ढङ्गको । निम्तो–पत्रको देब्रेकुनाको सिरानमा हातैले लेखेको (स–परिवार) कुनैमा त्यो बाहेक ठुलो अक्षरको ठिक्क मुन्तिर, लेखिएको । कोही कोहीले फेसबुक मेसेन्जरमा निमन्त्रणा कार्ड फोटो खिचेर पठाएको। निम्तोमा ठेगाना लेखाई तरिका पनि फरक छ। उपलब्ध हुने जतिपनि निम्तो पत्रहरु राम्ररी नपढी भ्याउँने उद्धेश्यले मात्रै निम्तो मान्न जाँदा दिनभर भोक–भोकै परेको पनि राम्ररी हेक्का छ । एउटै पार्टी प्यालेसमा तीन–तीनवटा विवाह उत्सव चलिरहँदा कुन चै आफ्नो हो सो नबुझेर अझ लज्जित भएको उदाहरण पनि छँदैछ।

हिजोआज तीब्ररुपमा शहरीकरण बढेसँगै विवाह, ब्रतबन्ध, पुराण, मृत्युसंस्कार आदि, भोजभतेरका कार्यक्रमहरु ठूला अतिथि सदन, होटल, पार्टीप्यालेस जस्ता ठाउँमा आयोजना हुने गरेका छन् । होटल र पार्टी प्यालेसको नाम राम्ररी पढ्न नभ्याई वा पढेर पनि स्थान बिर्सिएर निम्तो मान्न जाँदा गाल परेको कथा पनि हजुर हामीसँग छ । प्रितिभोजको समय राम्ररी नहेरी जाँदा लामो समय भोकै पर्खनु परेको अवस्था पनि छँदैछ । आजभोलि हाम्रो समाजमा ‘दुईनानी दुई हामी’ भन्ने (स्मल फेमेली) सानो छरितो परिवारको अवधारणा भित्रिएको जगजाहेर नै छ । बस्ती बाक्लिएसँगै एकै दिनमा सात–आठवटा विवाह, ब्रतबन्ध,भागवत, बरखी आदि भोजभतेरको निम्तो मान्न पुग्नु सानो परिवारको लागि चानचुने कुरा होईन । हाम्रो समाजमा निमन्त्रणा मान्न जाने कुरा पनि पछिल्लो अवस्थामा एउटा चुनौतिकै बिषय बन्न थालेको छ । समयले मानिसलाई किंकर्तव्य बिमुढको अवस्थामा पुर्याएको छ । नजाउँ आयोजक रिसाउला, जाउँ भ्याई साध्य छैन ।

निमन्त्रणा पत्रमा श्रीमान शब्दलाई कायम राखेर अर्थात राईट लगाएर अरु शब्दलाई च्वाट्ट–च्वाट्ट काटेर पठाईएका पनि हुँदारहेछन् । तिनीलाई किन स–परिवार लेख्नु पर्यो। अलि परैको नाता हो नि….? बहस पैरवी भएर आएको त्यस्तो निम्तो पत्र घरमा आउँदा कहिले कहिले परिवारका सदस्यमा मुख माँझा–माँझ पनि हुने गर्दछ । छोराछोरी लिएर स–परिवार जौ भन्या । एकजना बोलाएको हुन्छ । त्यसकोमा किन जानु सबै नारिएर ? भोजमा जानु खानु त कता हो कता घरमै विवाद बढ्ने खतरा । निम्तो पत्र लेख्ने आयोजकहरु निम्तारुका घरमा झगडा लाउन उद्दत देखिएजस्तो । केही–केही निम्तो पत्र त्यस्तो आउँछ कि भरसक बोलाईएको मान्छे नआओस् । अर्थात झारा टार्ने नियत । निमन्त्रणा गर्ने महोदयले नै त्यस्तो निम्तो पत्र आमन्त्रण गरिएको घरपरिवारमा भरसक ढिलो पुग्ने । कुनै निम्तो ढिलै जाओस् भन्ने आशयले नै पठाएको हुँदोरहेछ । कति निमन्त्रणा छिमेकीको घरमा छाडिने । छिमेकीले हातलाउनै बिर्सने। असली बानी । अन्यथा नमानेमा नेपालीहरुको छिमेकी एक–अर्कामा सबैसँग सम्बन्ध राम्रो हुन्छ भन्ने हुँदैन । छिमेकीसँगको सम्बन्धमा अलि–अलि कमिला–धमिरा लागेकै हुन्छ अर्थात एक प्रकारको झन्झनाहट हुन्छ । सामान्य मूल्यांकन गर्ने हो भने भित्री चिसोपन भएकै देखिन्छ, चिसोपन बढेकै हुन्छ । यसको असली कारण थाहा नभएपनि ओल्लो पल्लो घरको स–सानो व्यवहार एकअर्कामा प्राय मिहिसँग थाहा भएको हुन्छ ।

दोस्रो कुरा कुनै न कुनै दिन सिमाना विवाद भैसकेको वा हुने सुरसारको स्थितिबाट गुज्रिरहेको हुनसक्छ। छिमेकमा छाडेको त्यस्तो निम्तो कहिलेकाहिँ कार्यक्रम सकिएको पर्सिपल्ट हात लाग्छ । त्यसो त, अति मिलेर बसेका छिमेकी पनि हाम्रो समाजमा औधी देखिएकै पनि छन् । दिनहुँजसो सब्जी साटासाट गरेर खाने छिमेकी पनि हाम्रै टोल छिमेकमा छन् । आयोजक महाशयले निम्तो बाँड्न पठाएको मनुवा जो घर परिसरमै पुगेर दाई हुनुहुन्न भन्दै श्रीमानको अनुपस्थितिमा घरमुलीको नाम सोधेर निमन्त्रणा कार्डमा नाम भर्छ । शब्दलाई निजको आँखै अगाडि श्रीमती–सुश्री र श्रीलाई तत्क्षणमै डिलिट गरिदिँदा श्रीमतीको पनि कन्पारो तात्नु स्वाभाविकै हो ।

निम्तो वितरकले त्यसो गर्नु भनेको एकजना मात्रै आउनु भनेको हुन सक्छ ? साँझ घरमुली घरमा पुग्दा श्रीमतीले त्यस आयोजकको चेहराको धज्जी उडाउँदै आफ्नो श्रीमानलाई रौद्ररुप देखाउँछिन् । ‘बजियाको घरमा ढुक्न को चै जान्थ्यो होला र ? ए गाँठे खानै नपाएको थियौ र ? बरु बोलाउँदै नबोलाउँनु नि, तेस्ता नादानले । कम्तीको रैन‘छ त्यो स्वाँठे ल हेर । मेरै अगाडि श्रीमती–सुश्री–श्री शब्दलाई च्वाट्टै काट्दो रै छ एई । श्रीमती– सुश्री–श्री…… नआउँन भनेर त्यसो गर्न पाइन्छ ? महिलामाथि विभेद गर्ने त्यो फटाहा, तेस्कै मुखमा त्यो कार्डसार्ड फाल्दिन मन लाग्या थ्यो भन्या ?’ श्रीमतीजीको आक्रोश हेरिरहेको श्रीमान भने प्रत्येक निम्तोको खाममा पैसा भर्दा भर्दा दिक्क लागेको अनुहारबाट आठवटा दाँत देखाउँदै फिस्स हाँस्छ । छर–छिमेकदेखि टाढा–टाढा आफन्तजनका विभिन्न किसिमका समारोह, कार्यक्रम हिजोआज नियमितजसो भईनै रहन्छ ।

भौतिक सुविधाको उपलब्धताले नेपालका शहर–गाउँटोलका बस्तीहरु बाक्लिएर हुनुपर्छ, घरमा निमन्त्रणा–पत्र पनि बाक्लै आउन थालेका छन् । संघ–संस्था र सामाजिक कामबाहेक विवाह, ब्रतबन्ध, सप्ताहज्ञान महायज्ञ, टिकाटालो, गुन्युचोली, पास्नी, छेवर, भजन किर्तन, स्वस्थानीको सांगे, शुद्धशान्ति, बार्षिकश्राद्ध आदि कति हो कति ? अहिले ती कार्जे थपिएर कसैकी दुलहीले भुँडी बोकेकोमा पनि निम्तो आउन थालेको अवस्था छ । आफू गाउँटोलको खातिरदार मान्छे भएर पनि होईन । सेलिब्रेटी भएर त हुँदै होईन । प्रार्थीले, त्यो घर पनि नछुटाउँ भन्ना खातिर पनि हुनसक्छ जे होस् निम्तो बाक्लै आउँछ । शुक्रअन्ध नहुँदा निम्तो पत्रको कुनै समय घरमा चाङ लाग्छ । कहिलेकाहिँ यस्तो लाग्छ सबै कामबाट निवृत्त भएर यिनै भोज भतेरमा जाउँ र मज्जाले रमाऔं । तर, सबैजसो ब्यवहार भोज–भतेरले मात्रै चल्दैन ।

निमन्त्रणा कार्ड पनि खाले–खाले, धेरैखाले, धेरै स्टाईलका आउँछन् । कुनै निम्तो पत्र भगवान कृष्णजीलाई जन्मनु भन्दा अगाडिनै मामा कंशबाट बचाउन ढोकाभित्र ढोका, ढोकाभित्र ढोका बनाएर लुकाएझै खोलेको खोलै–खोलेको खोलै भित्रै पुग्नु पर्ने हुन्छ । त्यतिभित्र पुगिसकेपछि जन्ती जानेमा चै।।।। ? प्रिती भोज भने समावेश भएकै हुन्छ । जन्ती नै जान नपाएछि निजको छोरा बुहारीलाई टिका दक्षिणा दिन मात्रै किन जानु ? जस्तो तर, जानु नै पर्यो । कुनै निम्तोपत्र डोरीले झुण्ड्याएर आउँछ । घरको एउटा खाँबोमा झुण्ड्याई दिनैपिच्छे हेरिरहुँ जस्तो । हजुरबाले गीताको पुस्तक डोरीले बेरेर बिहान–बिहान चन्दन लेपन गरी डोरीले बाँधेर राखेजस्तो जिल्ला (गातो) लगाएर कुनै निम्तोपत्र आउँछ । कुनै साधारण कुनै रंगीन र कोही निम्तो पत्र फोटोकपी गरेर ए–फोर साईजलाई पनि दुई–चार भाग लगाएको कटुवा आउँछ । निम्तो पत्रको डिजाईनले ब्यक्तिको आर्थिक हैसियत छुट्याउने राम्रो अवसर भने जुराउँदो रहेछ ।

कार्यक्रममा उपस्थित भईयो , निम्तो मान्न पनि गईयो , आयोजकमध्येका श्रेष्ठ ब्यक्तित्वलाई भेटियो नमस्कार पनि गरियो । शुभ–कामना दिने हो कि सान्त्वना । बधाई त्यो पनि दिईयो ।स्टेजमा राखिएका बेहुला बेहुलीलाई आशिर्वाद र खाम एकसाथ दिइयो । ब्रतबन्धे केटा र गुन्यूचोलीका नानीबाबुलाई पनि दक्षिणा पोकोपन्त्यौरो पनि दिइयो । तबसम्म करिव आधा काम सकियो । अब पालो आयो रमिताको । उक्त समारोहमा फेशन प्रदर्शनको अचाक्ली–अघोषित प्रतियोगिता । कोही सुटमा कोही दौरा सलवारमा । कोही साडी र चौबन्दीमा । लेहैङ्गा । बनारसी । कसैका नेक्लेस, कसैका छड्के, ब्रासलेट कसैका मुगा, कसैका हिरामोती, जडिवाला, पारदर्शी लुगाको ओहोरदोहोर आदि । कसैका टाटु खोपेका पाखुरा र नाईटा, कसैका मुन्द्रा लगाएका कान छेडेका मुन्द्रेहरु। कोई–कोई औलाको ईसारामा परैबाट स्कीन टच चलाउने । कोही भने स्टिक सेल्फी, कोही कोही टिकटकमा व्यस्त । कोहि माइकको गर्जनमा डिङ्गडाङ डिस्को डान्स । कोही भने साधारण संगीतमा मग्न । वाह, हाम्रो समाज।।।।

विवाह रहेछ भने अर्को मनोरञ्जन बेहुलाले बेहुलीलाई दही ख्वाउने कार्यक्रम ओहो । बेहुली पक्ष र बेहुला पक्षका तरुना तन्नेरीहरु यज्ञकुण्डमै झरौला झै गरेर टालो तानातान । कोही कोही त मान्छे तानातान । बेहुला बेहुली किचिएलान् थिचिएलान् भन्ने कसैलाई बाल मतलब । बेहुला बेहुलीले दही चटाउने अर्को मनोरञ्जन । बेहुली पक्षका सालीहरु बेहुलाको जुत्ता लुकाएर दाम कमाउने सुर कसेर डिठ्याईरहेका । पकेट कट्टाजस्तै क्षणभरमै बेहुलाको जुत्ता गायव । हिजोआज विवाहको मज्जा । निमन्त्रणा मान्न जानुको खास समय अब भयो । खाने समय आयो । बफे हो कि हैन ? मटन, चिकेन के छ ? शाकाहारीलाई चै के ……? भतेरमा गएर मिष्ठान्न भोजन कसरी गर्ने ? खाद्यान्नको पाक के के आईटम छ ? पानी पुलाउ मात्र खाने । रसवरीसहितको खाने कि ? चिल्लो पिरो खाने कति खाने ? फलफूल मात्रै, हल्का चिउरा र दही पाए हुन्थ्यो ? चटपटे पानीपुरीको अवस्था कस्तो छ ? सबै सर–सामानको एक पटक चेकजाँच गरी रितपूर्वक बसेर वा उभिएरै दनक दिन विचार गर्ने ।

अब, अर्काे निम्तो आजै मान्न जानु छ भने यहि समय हो, होस पुर्याउने साथीहरु। उमेरले डाँडा काटेकाहरुलाई चिल्लो पिरोले भोज भतेरको अरु पाँच दिन पेटको विकार पैदा भएर डाक्टरको शरणमा पनि जानु पर्ने हुन सक्छ ख्याल गर्ने । नेपाली समाजमा आजभोली संस्कार र संस्कृति अलि आधुनिक तरिकाले परिष्कृत हुँदै गएको छ । अथवा, फेरिएको छ । यो राम्रोको लागि नै ठान्नु पर्छ । चलन फेरिएको छ । चलन आफै चल्दैन चलाएपछि चल्ने हो । तर संस्कार र संस्कृति परम्परागत चल्दै आएको छ र हुन्छ । राम्रो बिर्सिएर नराम्रो अँगालिरहेका छौ वा नराम्रो भित्र्याइरहेका छौ ? यसको लेखाजोखा समयले गर्ला । हिजोको आजै गाउँघरमा खुशी उत्साह र उमङ्ग भने एक प्रकारले निस्तेज भएको छ, हराएको छ । हाम्रा पर्वहरु, पुजाआजा , विवाह ब्रतबन्ध, पुराण आदिमा गाउँघरका मानिस साथीभाई भेला हुने । विवाहको केहि दिनअघि आमा दिदीबहिनीहरु सालका पात टिप्न सामूहिक रुपमा जङ्गल जाने । आँगनमा भेला भएर दुना टपरा गाँस्ने । गाउँघरमा भएका भाडाँवर्तन कार्जेघरमा भेला गर्ने। छरछिमेका दाजुभाईले बाँसका लिङ्गा खोज्ने। खन्तीले डोव खन्ने लिङ्गा गाड्ने । त्रिपालको लागि खुट्टी गाड्ने । आपँ पिपलका पात टिप्ने। त्रिपाल तान्ने–बाँध्ने । रमाइला गफ चुट्दै कसार च्युरा खाने । दिदी बहिनीहरुले समूह भेला भएर गफिंदै अचार बनाउँने । कसार बटार्ने । श्रृङ्गारका कुरा गरेर एक अर्कामा दाँजिने । हँसिलो भएर थपी–थपी पर्साद खाने । हाँसो ठट्टा रमाईलो गर्ने । कार्यक्रम हेरी रात्रीमा जाग्राम बस्ने । गाईबाख्रा बिहानैदेखि भोकै छाडेको थियो। भोकले फुकेर अर्काको बाली खाईसक्यो होला भन्दै हतारिने । यी चलन हाम्रो नेपालीपन र संस्कारबाट विस्तारै हराउँदै गएका छन् । समाज एक प्रकार औपचारिकतामा सीमित हुँदै गएको छ । कस्तो कस्तो कृत्रिम जस्तो । चिनेकै हो तर नचिने जस्तो । हाँसो केहि भन्ला जस्तो । बोलौ उस्ले बोल्नै चाहिरहेकै छैन कि ? जस्तो सकस हुँदै गएको छ चाडपर्वमा हाम्रो समाज । सबै काम क्याटरिङले गर्ने, होटलले गर्ने भाडावालाले गर्ने भएपछि अब ढङ्ग नमिलेको छर–छिमेकीको सहयोगको दरकार रहने कुरै भएन । घरभित्रको आर्थिक जोहो गर्ने काम घरभित्रका पनि किचेन क्याविनेट अर्थात कोर टिमले गरेकै हुन्छन् ।

समस्या जसलाई पर्छ उसले आफ्नै वलबुताले समाधान गर्नु उसलाई बाध्यता परेकै हुन्छ ।त्यसैले त निकटमा रहेको सँधियार छिमेकी पनि पाहुना जस्तो भएर उहि श्रीमान–श्रीमती–सुश्री–श्री…………..मा लेखिएको निमन्त्रणा पत्र आर्थिक÷सामाजिक हैसियतमा खुम्चिएको छ । फगत स–परिवार निमन्त्रणाको पातोमा लेखिएको प्रिती भोजको समय पर्खिएर समारोह स्थलभित्र घरि–घरि खाने समय चिहाउँछ । निख्रिएको आत्मीयताको आत्मबोध गर्दै स–परिवार निमन्त्रणा गर्नु भएकोमा आयोजकलाई धन्यवाद । सलाम ।।। अस्तु ।

(लेखक हाल फिदिममा बस्छन्)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्