झापा, भदौ ८ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा निषेधाज्ञा जारी गरेको छ ।

जातीय र धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भएकाले शुक्रबार राति १२ बजेदेखि भदौ ९ गते राति १२ सम्म धरानका सबै २० वटै वडाहरुमा लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले साम्प्रदायिक हिंसा भड्किन नदिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । प्रजिअ पाण्डेका अनुसार ‘धरानमा गोरु काट्न पाउनु पर्छ’ भनी सामाजिक संजालमा प्रचारप्रसार गरेको विषयमा शनिबार ¥याली गर्ने भनी प्रचारप्रसार गरिएको सन्दर्भमा शुक्रबार सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो ।

उनका अनुसार धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिकाको झन्डाचोकदेखि धरानतर्फको क्षेत्र, रामधुनी–६ र बराहक्षेत्र–३ नहडाचोकदेखि धरानतर्फको क्षेत्र, इटहरी–२० तरहरा पानीपियादेखि उत्तर, केराबारी गाउँपालिकाबाट धरान प्रवेश गर्ने क्षेत्र, धनकुटाको सांगुरीगढी–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा पुरै निषेधाज्ञा गरिएको छ ।

यसैबीच धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सद्भाव भाइचारा र एकता कायम गर्नका लागि नगरवासीहरुमा अपिल गरेका छन् । उनले शुक्रबार एक अपिल प्रकाशित गर्दै कुनै पनि प्रकारको सामाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न अनुरोध गरेका छन् ।
‘विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो सहर धरानमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको छ । बहुजातीय, बहुधार्मिक सांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो,’ राईले भनेका छन् ।
समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तरविरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने उनले उल्लेख गरेका छन् ।

‘नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरुमा हार्दिक अपिल गर्दछु’ उनले भनेका छन् ।
त्यस्तै धरानमा धार्मिक तथा सांस्कृतिक विवादले सामाजिक सद्भाव बिथोलिन सक्नेतर्फ चिन्ता व्यक्त गर्दै धरानका तीन पूर्वनगरप्रमुख र उपप्रमुखले संयुक्त अपिल गरेका छन् । पूर्वमेयर तथा नागरिक अगुवा कुमारबहादुर कार्की, निवर्तमान प्रमुख तिलक राई, पूर्वप्रमुख मनोजकुमार मेन्याङ्बो र पूर्वउपमेयर मीनकुमार सुब्बाले सामाजिक सद्भाव कायम राख्न आहृवान गरेका छन् ।
अपिलमा भनिएको छ, ‘विगत केही समयदेखि धरानमा भइरहेको धार्मिक तथा सांस्कृतिक विवादले सबैलाई संवेदनशील बनाएको छ । धरान सांस्कृतिक, भाषिक, जातीय तथा भौगोलिक विविधता र विशेषता बोकेको, धार्मिक सहिष्णुता, सांस्कृतिकरुपमा बहुलतायुक्त समाज सधैं एकताबद्ध भएर अगाडि बढेको सहर हो । समाजभित्रका समुदायमा आफ्नै प्रकारका सांस्कृतिक तथा धार्मिक भिन्नताहरु रहन्छन् र सबैले यसको स्वतन्त्ररुपमा मान्ने परम्परा रहँदै आएको छ । एकले अर्को समुदायमाथि द्वेष फैलाउने र सामाजिक सद्भाव खलबल्याउने काम यसअघि धरानमा भएको छैन ।’

पहिचानवादीको आन्दोलन चर्किएसँगै धरानमा गाइगोरुको मासु खाएको विषयमा सञ्चारकर्मीबीचसमेत सामाजिक सञ्जालमा विवाद भइरहेको थियो । आदिवासी जनजाति समुदायको बाहुल्य रहेको धरानमा गोरुको मासु खान पाउनु आफ्नो सांस्कृतिक र धार्मिक अधिकार रहेको बताउँदै सामाजिक संजालमा प्रचार गरिएपछि त्यसको विरुद्धमा अर्को समुदाय पनि सामाजिक सञ्जालमार्फत प्रचारमा लागेका छन् ।

यसैबीच, शुक्रबार नै एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, संघीय लिम्बुवान राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी नेपाल, किरात खम्बुवान र विवेकशील साझा पार्टीका स्थानीय नेता, कार्यकर्ताहरुले संयुक्त विज्ञप्ति जारी गरी सामाजिक र धार्मिक सद्भाव कायम राख्न आह्वान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्