दमक, भदौ १० । लिम्बु जातिको जातीय संस्था किराँत याक्थुङ चुम्लुङले ३५ औं स्थापना दिवस झापामा सप्ताहव्यापी कार्यक्रमसहित मनाउने भएको छ ।


चुम्लुङको जिल्ला समिति झापाले यसका लागि जिल्लास्तरीय दुईवटा समिति गठन गरेर भदौ १० देखि १७ गतेसम्म जिल्लाका विभिन्न स्थानमा गरिने कार्यक्रमहरुका बारेमा जानकारी गराएको हो ।
चुम्लुङका कार्यक्रमहरुबारे जानकारी दिन शनिबार दमकमा आयोजित पत्रकार सम्मेलनमा चुम्लुङका अगुवाहरुले यसपटकको चुम्लुङको स्थापना दिवस विशेष महत्वसाथ मनाउन लागेको बताए ।

उनीहरुले चुम्लुङको इतिहासमै पहिलो पटक ७ दिने विभिन्न कार्यक्रमहरु गर्न लागिएको र यसका लागि आवश्यक पर्ने ७ लाख रुपैयाँभन्दा बढी बजेट आयोजक समितिभित्रैबाट निश्चित दायरा बनाएर बन्दोबस्त गर्ने काम भइरहेको पनि बताएका छन् । मूल आयोजक समितिका संयोजकसमेत रहेका चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाकले कोशी प्रदेश नामांकन खारेजीको आन्दोलनका रुपमा समेत यस पटकको स्थापना दिवस मनाउन लागिएको बताए ।

उनका अनुसार भाद्र १० गते स्थापना दिवस विशेष कार्यक्रमको चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लावतीले उद्घाटन गर्नेछन । सोको भोलिपल्ट ११ भाद्रमा गौरादह शाखाको व्यवस्थापनमा विभिन्न जातीय संस्थाहरु समेतको सहभागितामा शुभकामना आदानप्रदान, १२ गते मेचीनगर ८ स्थित चुम्लुङहिममा संघीय उपाध्यक्ष डा. कमल तिगेलाको मुख्य उपस्थितिमा गायिका गंगा फियाकलगायत स्थानीय कलाकारहरुको विशेष प्रस्तुतीसहित संस्थालाई विशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा लिम्बु जातिको लोकना केलाङ प्रस्तुत गरिनेछ । त्यस्तै चुम्लुङ कमल शाखाको व्यवस्थापनमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समालोचक मुनाराज शेर्मा र बिमला पालुङवाको उपस्थितिमा विशेष सम्मानसाथै आन्तरिक केलाङ प्रस्तुत गरिने जनाइएको छ ।

त्यस्तै भाद्र १४ गते भद्रपुरमा, १५ गते चुम्लुङ जिल्ला कार्यालयमा मातृभाषा गोष्ठी तथा १६ र १७ गते विर्तामोडस्थित सिटी सेन्टरमा जिल्लास्तरीय केलाङ प्रतियोगिता, गायक गायिकाहरुको विशेष प्रस्तुति, चुम्लुङ इजरायल छात्रवृत्ति र याक्थुङ सहयोग कोषद्वारा प्रदान गरिने छात्रवृत्ति प्रदान गर्नुका साथै जिल्ला शाखा चुम्लुङलाई विशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई विशेष सम्मान गरिने जनाइएको छ । कार्यक्रमको दौरानमा संकलन भएको सहयोग रकम आवश्यक खर्च कटौती गरेर चुम्लुङको कोषमा जम्मा गरिने पनि पत्रकार सम्मेलनमा जनाइएको छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिंह सम्बाहाम्फे, इक्सा सम्बाहाम्फेलगायतले विविध बिषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्