झापा,भदौ १२ । मोफसलका पुराना पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ आज काठमाडौंमा सार्वजनिक भएको छ ।


बाग्लुङमा जन्मिएर राष्ट्रिय जीवनमा दीर्घकालीन महत्वका खोज र अनुसन्धान गरेपनि उचित प्रचारप्रसारको कमीले ओझेलमा परेका आचार्यको गत भदौ १ गते काठमाडौंमा निधन भएको थियो । उक्त स्मृति ग्रन्थमा आचार्यका ५२ जना समकालीन, सहकर्मी, पत्रकार, साथीभाइ, ईष्टमित्र, परिवारका सदस्यहरूले आफ्ना अनुभव, अनुभूतिहरू र संस्मरणात्मक लेखहरु लेखेका छन् । यो ग्रन्थले आचार्यको योगदानको विस्तारमा प्रकाश पार्ने बताइएको छ ।

बाग्लुङमा जन्मे–हुर्केका डिल्लीप्रसाद आचार्य मनले उदार, वचनले नरम, व्यवहारले समाजसेवी, पेशाले प्रशासक र पत्रकार अनि भोगाइले यायावर रहेको ग्रन्थले छर्लङ्ग पारेको छ ।

पश्चिमाञ्चलमा खोज पत्रकारिताको अभ्यास गरेका आचार्यको कालापानी–लिपुलेकवारेको आधा शताब्दी अघिको रिपोर्टिङ अनि भगवान बुद्धको मावली र ससुराली– “देवदह“ प्रतिको खोज र सार्वजनिकीकरण यस ग्रन्थमा स्पष्ट गरिएको छ ।

आजीवन “सादा जीवन, उच्च विचार“ दर्शनवाट प्रेरित आचार्यका आत्म– संस्करणात्मक पुस्तक “झझल्काहरु“ यसअघि प्रकाशित भएको थियो । दुवै पुस्तकहरू बुलबुल प्रकाशनले प्रकाशित गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्