झापा, भदौ १२ । विगत चार महिनादेखि जारी तेह्रथुमको आठराई – ५ स्थित पोखरी माध्यमिक विद्यालयको विवाद मिलेको छ ।

सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजमान कन्दङ्वालाई प्रधानाध्यापक देवीप्रसाद संग्रौलाले काम गर्न नदिँदा विवाद भएको थियो । बिर्तामोड ६ निवासी सो विद्यालयका पूर्व विद्यार्थी तथा समाजसेवी लोकबन्धु कन्दङ्वाको घरमा दुई दिनसम्म चलेको छलफलले सहमति कायम गरेको हो । आइतवार र सोमवार प्रधानाध्यापक संग्रौला र व्यवस्थापन समिति अध्यक्ष कन्दङ्वालगायतको उपस्थितिमा भएको छलफलमा दुवैजना मिलेर जाने सहमति भएको हो । सर्वोच्च अदालतको परमादेशलाई कार्यान्वयन गर्ने र अदालतको पूर्ण फैसला नआउन्जेलसम्म व्यवस्थापन समितिका अध्यक्ष कन्दङ्वालाई काम गर्न दिने सहमति भएको पूर्व विद्यार्थी लोकबन्धु कन्दङ्वाले जानकारी दिए ।

व्यवस्थापन समिति अध्यक्ष कन्दङ्वालाई काम गर्न नदिने प्रधानाध्यापक संग्रौलाको अटेरीप्रति सरोकारवालाहरुले विरोध जनाउँदै आएका थिए । तीन दिनअघि त्यस विद्यालयका पूर्व विद्यार्थी, पूर्व प्रधानाध्यापक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् शुभेच्छुकहरुले सामूहिक प्रेस विज्ञप्ति जारी गरी सर्वोच्च अदालतको परमादेशलाई उल्लंघन गर्ने अधिकार प्रधानाध्यापक संग्रौलालाई नभएको बताएका थिए ।

आठराई गाउँपालिकाले २०७९ को माघमा पुराना विद्यालय व्यवस्थापन समिति विघटन गरी नयाँ समिति गठन गर्नेगरी शिक्षा ऐन जारी गरेको थियो । त्यस निर्णयको विरुद्धमा आठराईका पोखरी मावि र सरस्वती आधारभूत विद्यालयले सर्वोच्चमा उजुरी दिएका थिए । सर्वोच्चले चैत १५ उत्प्रेषण परमादेश जारी गर्दै अर्को व्यवस्था नभएसम्म पुरानो समितिलाई पुनर्स्थापित गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्