दमक, भदौ १२ । निर्माणाधिन झापाको कमल गाउँपालिका– ५ स्थित पाडाजुंगीदेखि गौरादहतर्फ जाने सडकका लागि बजेट माग गर्दै पालिकाले संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ ।


पालिका अध्यक्ष हुकुमसिंह राईसहितको एक टोलीले मंगलवार अर्थमन्त्रीकै कार्यकक्षमा भेट गरी त्यस सडकका लागि आवश्यक बजेट माग गरिएको अध्यक्षका स्वकीय सचिव रोशन दाहालले बताए ।

वैकल्पिक सहायक राजमार्गअन्तर्गतको पाडाजंगी–गौरीगञ्ज चारलेन सडक बजेट अभावका कारण अलपत्र परेको र त्यहाँ धुलो धुवाँले स्थानीयबासी र सर्वसाधारणहरुलाई हिँडडुल गर्न समस्या भएको भन्दै तत्काल कालोपत्र पूरा गर्नका लागि ५ करोड ३० लाख रकम ब्यवस्थापन गरिदिन माग गरिएको उनले जानकारी दिए ।
जापानको कृषि अवलोकन भ्रमणपछि काठमाडौ झरेलगत्तै धुलाम्मे सडकबाट निस्किने समस्याप्रति संवेदनशील हुँदै उनले सरकारका उच्च अधिकारीहरुसंग भेटघाट तीब्र बनाई बजेट माग गर्ने कार्य भईरहेको स्वकीय सचिव दाहालले बताए ।

भेटका क्रममा अर्थमन्त्री डा. महतले यथासिघ्र बजेट व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका थिए । अध्यक्ष राईले सडक डिभिजन र निर्माण पक्षसंग त्यस सडकका बारे बुझेर यथासिघ्र काम अघि बढाउन आवश्यक बजेटको व्यवस्था गरिदिने मन्त्रीबाट प्रतिवद्धता आएको जनाएका छन् ।त्यस सडकमा हालसम्म ५ करोड ५० लाखको काम भईसकेको र बाँकी काम सम्पन्न गर्नका त्यति नै बजेट लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्