बिर्तामोड, भदौ १४ । बाह्रदशी ३ का २२ वर्षिय सनम हेमरमको क्यानडाको भिसा लागिसकेर पर्सीको फ्लाइट थियो । त्यसका लागि उनी भोलि काठमाडौ जान लागेका थिए ।

क्यानडा अध्ययन गर्न जाने खुशीयालीमा उनले हिजो बेलुका साथीभाइहरुलाई पार्टी दिएका थिए । क्यानडा जानकै लागि आज बिहान बिर्तामोड सपिङ गर्न जाँदा उनी मोटरसाइकल दुर्घटनामा परे । सोही दुर्घटनामा परी ज्यान गुमाएका सनमको क्यानडा जाने र छोरालाई राम्रो शिक्षा दिक्षा दिने उनको परिवारको सपना अधुरै रह्यो ।

उनी कंगारु एजुकेशन फाउन्डेशनमार्फत क्यानडाको टोरोन्टो ओन्तरियोको जर्ज ब्राउन कलेजमा डिप्लोमा इन चाइल्ड एण्ड युथ केयर पढ्न जान लागेका थिए । चारपाने– राजगढ भित्री सडकअन्तर्गत झापा बाह्रदशी ५ को घोडामारा चोकनजिक बिहान ११ बजे भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक सनमको मृत्यु भएको हो । बिहान ११ बजेतिर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे८प ३५६९ को उनको मोटरसाइकलले बाटो काट्दै गरेकी पैदलयात्री स्थानीय ४५ बर्षीया मनि मर्डीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । पैदलयात्रीलाई बचाउन खोज्दा उनले आफ्नो ज्यान गुमाए ।

पिता देवन हेमरम(गोपाल) र माता विमला हेमरमका उनी जेठा छोरा थिए । सनमको निधनले गाउँ नै शोकाकुल बनेको बाह्रदशी ३ की वडा सदस्य लक्ष्मी निरौला अधिकारीले बताइन् । उनले पढाइमा ट्यालेन्ट रहेका सनमको अकल्पनीय निधनले हेमरम परिवार विक्षिप्त बनेको जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्