झापा, भदौ १५ । झापाको मेचीनगर–६, काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले शुक्रवारदेखि कर्जाको ब्याज दर घटाएको छ ।

संस्थाको कर्पोरेट कार्यालयले सूचना प्रकाशित गरेर भदौ १५ गतेदेखि लागू हुनेगरी एनएमसीका प्रायः सबैजसो शीर्षकको कर्जामा ब्याजदर घटाएको जनाएको छ ।

संस्थाले हाल २० प्रकारका शीर्षकमा सदस्यहरुलाई कर्जा लगानी गरिरहेको छ । तीमध्ये विगतदेखि नै सञ्चालनमा रहेका १८ प्रकारका कर्जाको ब्याजदरमा शून्य दशमलव २५ देखि १ दशमलव ५ प्रतिशतसम्म ब्याजदर घटाइएको प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिएका छन् । एनएमसीले सबैभन्दा धेरै शैक्षिक कर्जाको ब्याजदर १५ दशमलव ५ बाट घटाएर १४ प्रतिशतमा झारेको हो ।

आफ्ना सदस्यहरुको हितका लागि सदैव सचेत एनएमसीले भदौ १ गतेदेखि नै कर्जाका नयाँ दुई वटा प्रोडक्टहरु ल्याएको थियो । साना, घरेलु तथा लघु उद्यमी साथै नियमित रोजगाारीमा रहेका सदस्यहरुलाई लक्षित गरेर सुलभ ब्याजदर १२ प्रतिशतमा लघुकर्जा सुरु गरिएको हो । यस्तै, व्यापार व्यवसाय तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लक्ष्यसहित न्यूनतम् ब्याजदर १३ प्रतिशतमा सहज कर्जा प्रदान गर्न थालिएको संस्थाले जनाएको छ ।

लघुकर्जा र सहजकर्जा लगानी गर्ने नीति अवलम्बन गरेको १५ दिनपछि नै संस्थाले भदौ १५ देखि लागू हुनेगरी अन्य सबै कर्जा प्रोडक्टको समेत ब्याजदर घटाएको हो । सहकारी संस्थामा सदस्य नै सर्वोपरी हुने र सदस्यको हितका लागि केही न केही गर्न संस्था सदैव लागिपरेको जनाउँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत उप्रेतीले सदस्यको माग तथा आवश्यकताअनुसार ब्याजदर घटाइएको बताए ।

संस्थाले ज्येष्ठ नागरिक बचतको ब्याजदर पनि बढाएको छ । ज्येष्ठ नागरिक बचतमा दिँदै आएको ६ प्रतिशतबाट बढाएर ७ दशमलव ७ प्रतिशत बनाइएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्