झापा, भदौ १७ । अर्जुनधारा वडा नम्वर ३ का किसानहरुले लगाएको धानबारीमा गवारो रोग लागेपछि यतिबेला उनीहरु चिन्तित बनेका छन् ।

यस वडाको करिब १० जना किसानहरुले लगाएको २० विगाह धान खेतीमा गवारो रोग देखिएको हो ।
रोगले धान पहेंलो भएपछि अब कसरी बाँचिने हो भनी चिन्ता छाएको पीडित किसान दलमान कामीले दुखेसो पोखे । दलमानले लगाएको धान पुरै पहेंलो भएको वडा सचिव खगेन्द्र लिङ्देनले बताए ।
वडामा जानकारी भएअनुसार सञ्चरानी इङ्नाम, युवराज इङ्नाम, पूर्णहाङ इङ्नाम, दलमान कामी, प्रकाश जगुरेल, स्वर्णकुमार राई, होम पाण्डे, होम दुलाल, नरेन्द्र फेगुवा, अमा लिम्बूले लगाएको धानबाली गवारो किराका कारण बिग्रिएको छ । आफ्नो वडामा किसान पीडित भएको खबर आएपछि कृषि शाखाबाट गवारो मार्ने किटनासक औषधी ल्याएर वितरण गरेको वडा सदस्य नारायण पराजुलीे बताए ।
अर्जुनधाराका किसानहरु गवारो रोगबाट पीडित भएको विषयमा कृषि शाखा प्रमुख एन्जिला विडारीले वडा नं. ३ मा मात्र होइन सबै वडामा फौजी किरा, गवारो रोगले हैरान पारेको हुँदा शाखाबाट रोग नियन्त्रणका लागि किटनासक झोल औषधि वितरण गरिदै आएको बताइन् । अत्यधिक पानी परेर घाम लागेपछि जमेको पानी तातिएर धानका बोटमा फौजी किरा र गवारो जस्तो रोग लागेको शाखा प्रमुख विडारीले जानकारी दिइन् ।



