झापा, भदौ १७ । दक्षिणी झापाको कचनकवल गाउँपालिकाका नाकाबाट ठूलो परिमाणमा सुर्ती र चिनी तस्करी हुने गरेको पाइएको छ।


सो नाकाबाट भन्सार छलेर ठूलो मात्रामा सुर्ती र चिनी तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाबाट खटिएको सशस्त्रको टोलीले आइतबार बिहान साढे ६ बजे ३० बोरा पत्ता सुर्तीसहित १३ वटा साइकल नियन्त्रणमा लिएको छ।

गणबाट खटिएको प्रहरी निरीक्षक भीष्म सापकोटाको नेतृत्वको टोलीले कचनकवल–१ स्थित हात्तीपाइला क्षेत्रबाट साइकलमा लोड भएका सो परिमाणका सुर्ती बरामद गरेको हो।
भारतबाट अवैध रुपमा भन्सार छलेर साइकलमा लस्करै हालेर नेपाल भित्र्याइरहेको अवस्थामा सुर्ती बरामद गरिएको सशस्त्रले जनाएको छ। सशस्त्रलाई देख्नासाथ तस्करहरू साइकल र सुर्ती छाडेर भागेका थिए।

बरामद गरिएको सुर्ती र साइकललाई १ लाख २८ हजार मुल्यांकन तोकेर भद्रपुर भन्सार कार्यालयमा बुझाइसकेको जनाइएको छ। तिलक भन्ने कारोबारीले कचनकवलको घेराबारी र पथरिया नाकाबाट ठूलो परिमाणमा सुर्ती भित्र्याउँदै आएको स्रोतको दाबी छ।

त्यस्तै सोही नाकाबाट गदा भन्ने कारोबारीले चिनी भित्र्याउँदै आएका छन् । सो नाकाबाट तस्करी मौलाएसँगै सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाको टोलीले निगरानी बढाएको जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्