झापा,भदौ १९ । झापामा झुटा विवरण पेस गरी नेपाली नागरिकता बनाईदिएको मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ९ नम्बर वडाका तत्कालीन वडा अध्यक्ष ५२ वर्षीय शनिलाल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ २४ गतेको फैसला अनुसार तत्कालीन वडा अध्यक्ष राजवंशीलाई झुटा विवरण पेस गरी नागरिकता बनाईदिएको मुद्दामा १ वर्ष ३ महिना कैद र एक लाख जरिवानासहितको सजाय सुनाइएको थियो । अदालतले फैसला सुनाएदेखि फरार रहेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अदालतमा पेस गरी कैद भुक्तानका लागि झापा कारागार चलान गरिसकेको डीएसपी रिजालले बताए । घटना विवरण अनुसार जिल्ला प्रशासन कार्यालय झापाबाट २०७३ देखि २०७६ सम्ममा १६ गैरनेपालीलाई नागरिकता दिइएको थियो । आर्थिक प्रलोभनमा परी राजवंशीसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारीदेखि अन्य जनप्रतिनिधिहरू समेत घटनामा मुछिएका थिए ।

गैरनेपालीलाई नागरिकता दिँदा विभिन्न बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको थियो । नागरिकता वितरण गर्दा टेकबहादुर गुरुङ र रिना गुरुङलाई बुबाआमा कायम गर्दै नौ जनालाई नागरिकता दिएका थिए । टेकबहादुर र रिनालाई बुबाआमा कायम गरेर नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ र लोब्सान गुरुङ रहेका थिए । उनीहरू सबैको ठेगाना झापा कायम गरिएको थियो ।

गैरकानूनी रूपमा नागरिकता पाउनेमा धाइजन–६ झापाका लाक्पा शेर्पा, सञ्जय अग्रवाल, अयुव आलम, ज्योति विश्वास दास, नवाङ डेचेङ तामाङलगायत थिए । जिल्ला प्रशासन कार्यालय झापाले गैरकानूनी रूपमा २०७६ जेठ १२ मा तीनलाई, जेठ २० मा एकलाई र जेठ २१ तीन जनालाई नागरिकता वितरण गरेको थियो । यसैगरी, २०७६ जेठ ६ मा चारलाई नागरिकता दिइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्