भद्रपुर, भदौ १९ । भद्रपुरमा २१ वर्षयता निरन्तर निस्कदै आएको रथयात्रा यस वर्ष पनि भव्य रूपमा निकालिने भएको छ ।


रथयात्रा मूल समारोह समितिले पत्रकार भेटघाट गर्दै दिएको जानकारी अनुसार भद्रपुरमा विगत वर्षभन्दा भव्य र सभ्य रूपमा रथयात्रा निकालिने जानकारी दिएको हो ।

आयोजक समितिका सचिव सञ्जय घोषका अनुसार लक्ष्मीनारायण मन्दिरबाट बिहीबार बिहान ११ बजेदेखि शुरु हुने रथयात्रा ज्ञानेचोकदेखि झापा चोक – भानु चोक – संगम चोक – हस्पिटल चोक –सगरमाथा चोक – किरात कोलोनी हुँदै बिजुली अफिस – लेखनाथचोक – एसपी मोड – क्याम्पस मोड – हस्पिटल चोक हुँदै गणेश मन्दिर त्यहाँबाट पुनः लक्ष्मीनारायण मन्दिरमा आएर समापन हुनेछ । समावेशी भेषभुषासहित रथयात्रासँगै लाखेनाच समेत प्रस्तुत हुनेछ ।

रथयात्रा सबै जातजातिको अपनत्व ग्रहण हुने गरी विभिन्न जातजातिको झाँकी प्रस्तुत हुने समितिले जनाएको छ । वि सं २०५९ सालबाट भद्रपुरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा रथयात्रा आयोजना हुँदै आएको छ ।

श्रीकृष्ण रथयात्रा उत्सव मूल समारोह समितिका अध्यक्ष किरण भारतीले गत वर्षभन्दा पृथक र भव्य तरिकाले रथ यात्रा गर्न लागिएको जानकारी दिए । उनका अनुसार रथयात्रा सफल बनाउन भद्रपुर नगरपालिका संरक्षक रहेको छ भने विभिन्न दाताको सहयोगमा रथयात्राका लागि काम गर्ने गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्