मेचीनगर, भदौ २२ । पाँच राजनीतिक दलहरुले मेचीनगर नगरपालिकामा भइरहेको चरम भ्रष्टाचार , बेथिति र लापरवाहीको समस्यालाई चाँडो समाधान गर्न आग्रह गरेका छन् ।

उनीहरुले यी समस्यालाई अझै पनि टुलुटुलु हेरिरहँदा सम्पूर्ण नगरवासीप्रति अन्याय हुने हुँदा नगरपालिकालाई एक अविछिन्न उत्तराधिकारीवाला जनप्रतिनिधिहरुको संस्थाको गरिमा कायम राख्न आग्रहसमेत गरेका छन् । उनीहरुले प्रेस विज्ञप्तिमार्फत नगर प्रमुखलाई सचेत गराउँदै अन्यथा जनभावनाको प्रतिनिधित्व गर्दै आबश्यक पहल लिन बाध्य हुने चेतावनी दिएका छन् । नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी , नेकपा माओवादी केन्द्रका क्षेत्रीय समन्वय समिति संयोजक माधव अर्याल , जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ नेकपा एकीकृत समाजवादीका क्षेत्रीय अध्यक्ष भाष्कर घिमिरे र राप्रपा क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेलले संयुक्त रुपमा प्रेस विज्ञप्ति निकालेका हुन् ।

मेचीनगर नगरपालिकामा कर्मचारीबीच विवाद देखिएको छ । वरीयताको विषयमा कर्मचारीहरूबीच विवाद हुँदा त्यसको असर वडाका योजनाहरूमा परेको र उपभोक्ता समितिहरू समेत प्रत्यक्ष मारमा पर्दा काम प्रभावित भएको भन्दै वडाध्यक्षसहितका जनप्रतिनिधिहरूसमेत आन्दोलनमा उत्रिएका छन् ।

यसअघि सोमवार अपराह्न मेचीनगर वडा नं. ४ का वडा अध्यक्ष अर्जुन कार्की, वडा नं. १० का वडा अध्यक्ष नारायण खनाल र वडा नं. १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले नगरपालिकाको मुख्य प्रवेशद्वारमा नै पत्रकार सम्मेलन गरेर कर्मचारीहरूको कार्यशैलीको विरोध गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्