झापा, भदौ २३ । बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगन्जमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको छ । २५ जना घाइते छन् ।


राप्तीसोनारी–८ शमशेरगन्जमा गएराति सवा ९ बजेतिर दुर्घटना भएको हो । दाङबाट नेपालगन्जतर्फ गइरहेको ना७ख २३२१ नम्बरको बस शमशेरगन्जमा पूर्वपश्चिम राजमार्ग किनारमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको कोहलपुरका डीएसपी सुन्दर तिवारीले बताए । बसमा चालकसहित ४१ जना सवार थिए ।

दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५५ वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६० वर्षीय सानुराम थारू र चालक ४५ वर्षीय जुगबहादुर चन्दको मृत्यु भएको हो । अर्का मृतक सहचालक करिब ३५ वर्षीय पुरुषको नाम थर खुलेको छैन ।

घाइतेहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दाङबाट बर्दियातर्फ फर्कंदै गरेको ठाकुरबाबास्थित बेतनी सामुदायिक वन उपभोक्ता समूहको टोली दुर्घटनामा परेको प्रहरीको भनाइ छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी पाएको डीएसपी तिवारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्