झापा, भदौ २३ । झापामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण तीब्र रुपमा बढ्दै जानेक्रममा थप एकजनाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका वडा नं ६ काँकरभिट्टाका ३५ वर्षिय नन्दलाल गुरुङको डेंगी संक्रमणबाट मृत्यु भएको हो । भदौ ११ गते नै बीएण्डसी हस्पिटलको आइसियुमा उनको मृत्यु भएको हो । पुष्टि गर्न समय लागेकाले ढिलोगरी रिपोर्ट सार्वजनिक गरिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । साउन महिनायता झापामा डेंगी संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । साउन महिनामा तीन र भदौमा दुईजनाको मृत्यु भएको हो ।

त्यस्तै झापामा डेंगी संक्रमितको संख्या २ हजार नाघेको छ । हिजो भदौ २२ गतेसम्म जिल्लाका २ हजार २७ जना डेंगी संक्रमित भएका छन् । ६ हजार ११३ जनालाई परीक्षण गर्दा त्यति जनालाई डेंगी संक्रमण पुष्टि भएको हो । जुन करिव ३३ प्रतिशत हो । अहिले जिल्लाका विभिन्न अस्पतालहरुमा १११ जना डेंगी संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्