इलाम, भदौ २४ । इलामको माईजोगमाई गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेललाई हाजिर गर्न रोक लगाइएको छ ।


पोखरेल आइतबार पालिकाको कार्यालयमा हाजिर हुन मन्त्रालयको पत्रसहित पुग्दा उनलाई हाजिर नगराई फर्काइएको छ । गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेको ठाडो आदेश भन्दै उनलाई हाजिर नगराइएको बताइएको छ ।

पालिकाका निमित्त कार्यालय प्रमुख प्रकाश चौधरीले सरुवा भएर आएका पोख्रेलको रमानापत्र र सरुवापत्र पालिकामा दर्ता भए पनि हाजिर भने नभएको जानकारी दिए । हाजिर नगराएपछि पोख्रेल इलाम फर्केका छन् ।
ताप्लेजुङबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत पोख्रेलको आइतबार हाजिर हुने अन्तिम दिन थियो । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा रहँदा राम्रो काम गरेका पोख्रेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी माईजोगमाई पठाएको थियो ।

विवादै विवादमा रहेको माईजागमाईमा पोख्रेललाई समेत हाजिर नगराइएपछि कार्यालयको काम प्रभावित हुने भएको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईले गाउँपालिका अध्यक्ष पालिका बाहिर रहेको र आफू भएकै बेला हाजिर गराउने भन्ने कुराले हाजिर हुन नसकेको बताइन् ।

केही दिनअघि गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको सरुवा भएको थियो । उनको सरुवा भएलगत्तै गत भदौ १८ गते गाउँपालिकाका लेखा अधिकृत रेश्मा राईसँग कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो बाहिरिएको थियो । सो भिडियोका कारण चर्चामा रहेको गाउँपालिका थप विवादित बन्दै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्