झापा, भदौ २५ । झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक बर्ष २०८०÷८१ मा ९२ जना शेयर सदस्य तथा तिनका परिवारलाई ८ लाख ४४ हजार ६ सय रुपैयाँ उपचार सहयोग प्रदान गरेको छ ।


संस्थाले चालु आर्थिक बर्षको भदौ १५ गतेसम्ममा उक्त रकम सदस्य तथा तिनका परिवारलाई वितरण गरेको हो ।
राहत कोषअन्तर्गत मृत्य भएका सदस्यको कर्जा मिनाहा, स्वास्थ्य उपचार, मृत्यु राहत, प्राकृतिक प्रकोपलगायतका राहत सेवा सुविधाअन्तर्गत सदस्यलाई निरन्तर रुपमा सहयोग प्रदान गर्दै आएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए ।

संस्थाले शेयर सदस्यहरुलाई निरन्तर रुपमा औषधि उपचार खर्च प्रदान गर्दै आएको उनले बताए । संस्थाले झापा , मोरङ, इलाम र पाँचथर जिल्लाका ५० वटा सेवाकेन्द्रहरुबाट भैपरी आउने तथा विभिन्न रोगहरुबाट बिरामी भई उपचार गराईरहेका सदस्यहरुलाई औषधि उपचार खर्च दिंदै आएको छ ।सोही कार्यक्रमअन्तर्गत संस्थाले लक्ष्मीपुर सेवाकेन्द्रका सदस्य बिर्तामोड ३ का रबिन कोइरालालाई ३६ हजार रुपैयाँ प्रदान गरेको छ ।
पथरीयाको शल्यक्रिया गरेका सदस्य कोइरालालाई शनिबार बिर्तामोड सेवाकेन्द्रमा संस्थाको जोखिम बिभाग प्रमुख बिजय बस्नेत, बिर्तामोड सेवाकेन्द्र प्रमुख रमेश खनाल, लक्ष्मीपुर सेवाकेन्द्र प्रमुख इन्दिरा भट्टराईलगायतले उक्त रकम प्रदान गरेका हुन् ।

संस्थाका कार्यकारी प्रमुख बस्नेतका अनुसार संस्थाले गत आर्थिक बर्ष २०७९÷८० मा १ हजार ३५३ जना शेयर सदस्य तथा तिनका परिवारलाई १ करोड ४२ लाख ४२ हजार रुपैयाँ उपचार सहयोग प्रदान गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्