झापा, भदौ २५ । चन्द्रगढी विमानस्थलमा ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीन भारतीय कारोबारी पक्राउ परेको केही दिनपछि अर्का भारतीय पनि पक्राउ परेका छन् ।

भारतबाट ब्राउनसुगर ल्याएर नेपालमा बिक्री वितरण गर्न खोज्ने एक भारतीय झापा गाउँपालिकामा पक्राउ परेका हुन् । आज दिउँसो ४ बजेको समयमा झापा गाउँपालिका वडा नं.२ झापा बजारस्थित ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले साईकलयात्री भारत किसनगञ्ज महमारी धनतोला पञ्चायत बस्ने २६ वर्षिय असरफुल हकलाई शंका लागेर चेकजाँच गर्दा भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको ८ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै झापाको दमक नगरपालिका–८ चक्रपथ चोकबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दमक–८ मा कोठा भाडामा बस्दै आएका २९ बर्षीय किसन राजवंशीको डेरामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कोठामा लुकाई छिपाई राखेको अवस्थामा एक ग्राम एक सय मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । ब्राउनसुगरसहित राजवंशीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्