झापा, भदौ २६ । संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए ।

संविधान निर्माण प्रक्रियामा नेम्वाङले खेलेको उच्च भूमिकालाई कदर गर्दै राजकीय सम्मान दिने निर्णय भएको मन्त्री किरातीले जनाए । त्यस्तै नेम्वाङको अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा दिने निर्णय पनि भएको उनले जानकारी दिए । नेम्वाङका दुवै छोराहरू विदेशमा रहेको र उनीहरू आउँदै गरेकाले अन्त्येष्टि हुने दिन बिदा दिने निर्णय भएको उनले बताए ।
काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार छोराहरू आएपछि अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्