झापा , भदौ २६ । कचनकवल गाउँपालिका वडा नं १ का जनप्रतिनिधिको रोहवरमा त्यहाँको गाउँ समाजले एकजना बलात्कारीलाई कार्वाही गर्नुको साटो जग्गा दाइजो दिन लगाएर सुस्तमनस्थिति भएकी पीडित युवतीलाई जिम्मा लगाइदिएका छन् ।

करिव चार साताअघि कचनकवल गाउँपालिका १ साविक घेरावारी ७ बस्ने करिव ५० वर्षिय छवि राजवंशीले सोही ठाउँकी सुस्तमनस्थिति भएकी ३१ वर्षिया युवतीलाई घरमा एक्लै भएको मौका छोपी बलात्कार गरेका थिए । युवतीले होहल्ला गरेपछि बलात्कार गर्दैगर्दा उनी रंगेहात फेला परेका थिए ।

त्यसपछि वडा सदस्य उग्रनारायण राजवंशीको रोहवरमा बसेको गाउँ समाजको बैठकले बलात्कारी छवि राजवंशीलाई दाइजोस्वरुप पाँच कठ्ठा जग्गा पीडितका दाजु र भाइबाट दिलाएर पीडितलाई जिम्मा लगाएको थियो । गत साउन ३१ गते गरिएको सो कागजमा पीडक छवि राजवंशी , पीडित युवती र उनका दाजुलाई हस्ताक्षर गर्न लगाइएको छ भने साक्षीको रुपमा नेपाली कांग्रेस कचनकवल १ का वडा सचिव अनन्तलाल राजवंशी , कांग्रेसकै पुजा राजवंशी र रितु राजवंशी बसेका छन् ।

यसरी बलात्कारीलाई सजायको साटो पुरस्कार दिएर गाउँ समाजले पीडित युवतीलाई जिम्मा दिएपनि राजवंशीले आफ्नो घर भित्र्याएनन् । ती युवतीलाई उनकै घर फर्काइदिए । सोही विषयमा गाउँ समाजको बैठक पटक पटक बस्यो । समाजले पीडकलाई भन्दा पीडितलाई नै दबाव दिइरहे । पीडित युवतीको जिम्मा बुझेका राजवंशीले घरमा श्रीमती, छोेराछोरी, नाति नातिना भएका कारण युवतीलाई घर लगेनन् ।

पीडितका दाजुहरुले दिने भनेको जग्गा अहिले नै पास गरेर दिनुपर्ने र दाजुहरुले बस्ने घर पनि बनाइदिनुपर्ने दवाब राजवंशीले दिए । कचनकवल १ का वडा सदस्य उग्रनारायण राजवंशी , मेलमिलाप समितिका सदस्य उपेन्द्र राजवंशीलगायतले आफूलाई कानूनी कार्वाहीका लागि प्रहरीकहाँ जान नदिएको पीडितका दाजुले बताए । उनले पहिलो बैठकका दिन गाउँ समाजले बहिनी पाल्नका लागि जबर्जस्ती पाँच कठ्ठा जग्गा दिन लगाएको बताए । आफूहरु अन्यायमा परिरहँदा जनप्रतिनिधि र गाउँ समाजले वडा कार्यालयमै छेकेर राखेको पीडितका दाजुको भनाइ छ ।

यसैबीच प्रहरीले घटनामा संलग्न राजवंशीलाई आज दिउँसो पक्राउ गरेको छ । पीडितका तर्फबाट जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
यसअघि राजनीतिक प्रभावमा परी प्रहरी चौकी घेरावारीले पीडितहरुले दिएको जाहेरी नलिएको स्थानीय समाजसेवी कर्ण राजवंशीले बताए । गाउँ समाजमै बसेर मिलाउन सक्ने देखेर आफूहरुले सो घटना मिलाएको वडा सदस्य उग्रनारायण राजवंशीले बताए । उनले भने, ‘जानिएन कागज गरिहाल्यौं जेल जानुपरे जाउला । ’

गाउँ समाजले गरेको मिलापत्र कागज

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्