झापा, भदौ २७ । पहिचानवादीहरुले शुरु गरेको युवा दस्ता गठन र सांस्कृतिक आन्दोलनप्रति प्रहरी प्रशासनले निगरानी बढाएको छ ।

हल्दिवारीमा निर्माण गरिएको युवा दस्ता

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति झापाले युवा दस्ता गठनलाई तीब्रता दिएको छ । यसक्रममा हिजो हल्दिबारीमा गाउँस्तरीय पहिचानको लागि युवा दस्ता गठन गरेको छ । संघर्ष समिति झापाका सदस्य सचिव सेसेहाङ फियाकको प्रमुख आतिथ्यतामा १०१ जनाको युवा दस्ता गठन भएको हो । १०१ जना जर्सीधारी युवाहरुलाई हातमा लाठी समाउन लगाएर सो दस्ता सार्वजनिक गरिएको छ । संघर्ष समितिका हल्दिबारी गाउँपालिका संयोजक बुद्ध माबुको अध्यक्षता रहेको कार्यक्रममा सेसेहाङ फियाक,केवलराम राई , सामी पालुङ्वालगायतको उपस्थिति रहेको थियो ।

संघर्ष समितिले भदौ ३० गते १५०१ जनाको युवा दस्ता बिर्तामोडमा सार्वजनिक गर्ने तयारी गरेको छ । कोशी नाम खारेजीको आन्दोलनमा प्रहरी दमन हुँदै आएकाले त्यसको प्रतिकार गर्न र भ्रष्टाचार विरुद्ध अभियान गर्न सो दस्ता निर्माण गरिएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्षसमेत रहेका संघर्ष समितिका संयोजक पाण्डवलाल चौधरीले बताए । उनले युवा दस्ता परिचालनका लागि आचार संहिता निर्माण गरिएको बताउँदै त्यसलाई नमान्नेलाई कानुनी कार्वाहीका लागि प्रहरीलाई जिम्मा दिने जानकारी दिए ।

शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउने अधिकारलाई सम्मान गर्दै कोही कसैले आतंकित पार्ने खालको विध्वंशात्मक गतिविधि गर्न खोजे प्रहरी प्रशासन कार्वाहीमा उत्रिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनले पहिचानवादीहरुको आन्दोलनलाई निगरानी गरिरहेको बताउँदै आन्दोलनका बारेमा केन्द्रको निर्देशन पर्खिरहेको जानकारी दिए । झापा प्रहरीले पहिचानवादीहरुको गतिविधिप्रति निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले हतियारसहित भेला हुने र प्रदर्शन गर्ने गतिविधिलाई रोक लगाइने बताए ।

बिर्तामोडमा आयोजित सांस्कृतिक आन्दोलनमा घरेलु हतियार देखाउँदै

करिव एक साताअघि कोशी प्रदेश नाम खारेजीको मागसहित बिर्तामोडमा घरेलु हतियार प्रदर्शन गर्दै पहिचानवादीहरुले सांस्कृतिक आन्दोलन गरेका थिए । केही दिनअघि भद्रपुरको रंगेडाँडामा गोरु काटेर खाएको भनी सार्वजनिक गरिएको भिडियोमा पनि सांस्कृतिक क्रान्ति गरेको भनिएको थियो । त्यस्ता गतिविधिप्रति आफूहरुको संलग्नता नरहेको संघर्ष समितिका संयोजक चौधरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्