झापा,भदौ२७।हृदयघातबाट निधन भएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलबाट घर लगिएको छ।

सोमबार राति निधन भएका एमाले उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर मंगलबारदेखि आज दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो।

विदेशबाट आएका दुबै छोराहरूले च्यासलमा अन्तिम श्रद्धाञ्जली दिएपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको हो। नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट आज बिहान काठमाडौं आइपुगेका हुन् भने कान्छा छोरा सुहाङ मंगलबार राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए। सुहाङ एक महिनाका लागि अष्ट्रेलिया गएका थिए।

निवासमा लिम्बु परम्पराअनुसारको विधि गरिने र नेम्वाङको भोलि ११ बजे हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिने भएको छ।
सरकारले नेम्वाङको निधनमा भोलि शोक विदा घोषणा गरेको छ।

राजकीय सम्मानका साथ उनको अन्त्यष्टि गर्ने सरकारले निणर्य गरेको छ।

एमालेले पनि नेम्वाङको निधनको शोकमा तीन दिन देशभरका पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निणर्य गरेको छ भने सबै औपचारिक कार्यक्रमहरू स्थगित गरिएको छ।

नेम्वाङ २०६४ र ०७० सालको संविधान सभामा अध्यक्ष थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्