इलाम, भदौ २७ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनमा इलामको रोङ गाउँपालिकामा शोकसभा सम्पन्न भएको छ ।

नेकपा एमाले रोङले आयोजना गरेको शोकसभामा दिवंगत उपाध्यक्ष नेम्बाङको फोटोमा माल्यार्पण तथा मौनधारण गरी दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो ।

शोकसभामा बोल्ने वक्ताहरुले २०७२ सालमा नेपालको संबिधान जारी गर्नमा नेम्बाङको भूमिका देशभित्र र देश बाहिरसम्म प्रशंसायोग्य रहेकोमा जोड दिए । हालसम्म कुनै पनि विवादमा नमुछिएको र बोल्दा शब्द तौलिएर बोल्ने नेम्बाङको खुबी रहेको पनि वक्ताहरुले बताए । यसरी आ–आफ्नो धारणा राख्नेहरुमा एमाले नेताहरु युवराज खाप्तुवा, नानु तामाङ रणबहादुर गुरुङ, उपेन्द्र न्यौपाने, राजकुमार लाप्चा, खड्ग आलेमगरलगायत रहेका थिए ।

उनीहरुले स्वर्गीय नेम्बाङको जीवनी तथा नेम्बाङले नेपाली राजनीतिमा पुर्याएको योगदानको बारेमा पनि चर्चा गरेका थिए । पार्टी कार्यालय भालुझोडामा आयोजित शोकसभामा एमालेका कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । यसैबीच एमाले रोङको पार्टी कार्यालयमा आगामी तीन दिनसम्म शोक पुस्तिका राखिने एमाले रोङका सचिव वीरबहादुर लाप्चाले जानकारी दिएका छन् । एमाले उपाध्यक्ष नेम्बाङको मंगलबार हृदयघातबाट काठमाण्डौमा निधन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्