झापा, भदौ २८ । बाबुआमा बेपत्ता भएको वर्षौ भइसकेर कुनै अत्तोपत्तो नलागेपछि बिर्तामोड ४ को सेढाई परिवारले कुशको विधिबाट एउटै चितामा दुवैको अन्त्येष्टि गरेका छन् ।

कुशे औंसीका दिन आज कन्काई माईमा सेढाई परिवारले हिन्दु परम्परा अनुसार मलामी गएर कुशको विधिबाट आफ्ना बेपत्ता बाबुआमाको अन्त्येष्टि गरेका हुन् । एउटै चितामा बाबुआमाको कुशको शवलाई छोरा घनश्याम सेढाईले दागवत्ती दिएका थिए । करिव सयजनाको संख्यामा मलामी सहभागी रहेका थिए । अन्त्येष्टिपछि १३ दिनसम्म बाबुआमाको काजकिरिया गरिने सेढाई परिवारले जनाएको छ ।

बिर्तामोड १० सैनिकबजार (पथ्थरभिट्टा) मा अस्थायी बसोबासकै समयमा शशिधर सेढाई २०२८ फागुनमा ७२ बर्षको उमेरमा हरिद्वार भारत जान्छु भनी हिँडेकोमा हालसम्म सम्पर्क आएका छैनन् ।

त्यस्तै उनकी श्रीमती छलीमाया सेढाई २०६० सालदेखि मानसिक समस्या भई घोपामा उपचारको क्रममा २०६८ साल फागुन १८ गते ८८ बर्षको उमेरमा घरबाट हिँडी सम्पर्कविहीन भएकी छन् । धेरै खोजतलास गर्दा पनि दुवैलाई फेला पार्न नसकेको सेढाई परिवारले जनाएको छ । हाल आएर उनीहरुको उमेर १०० बर्ष पुगेकाले र अब फर्किने आशा नरहेकाले आज कुशे औंशीका दिन दुवैजनाको कुशको विधिबाट दाहसंस्कार गरिएको छोरा घनश्याम सेढाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्