बिर्तामोड , भदौ २९ । बिर्तामोड १० स्थित मुसहर बस्तीका शत्रुधन र जासो ऋषिदेवका ७ जना छोराछोरीमध्ये सबै जनाले मागेरै गुजारा चलाउँछन् ।

न खाने व्यवस्था छ न बस्ने । घरमा खानेकुरा नभएपछि उनीहरुका छोराछोरी अरुकै घरमा खान पुग्छन् । सुत्ने घर नहुँदा उनीहरुको सुताइ पनि बाहिर नै हुन्छ । ७ जना छोराछोरीमध्ये कोही पनि विद्यालय जाँदैनन् । शत्रुधन र जासोका ८ छोराछोरी थिए । जेठो छोराको करिव चार वर्षअघि मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । बाँकी ५ छोरा र २ छोरीमध्ये जेठी छोरी भारतको नागाल्यान्डमा बाल मजदुरको रुपमा काम गर्छिन् । अरु ६ जना घरमै छन् । छोरीमुनिको १२ वर्षका अर्जुन, मनु ऋषिदेवकोमा बस्छन् । उतै काम गर्छन् उतै खान्छन् । त्यसमुनिका अनिष , मनिष , लव , कुश र माया गाउँघरमै मागेर गुजारा चलाउँछन् ।

जनमजदुरी गर्ने शत्रुधन र जासो घरमा हुँदैनन् । शत्रुधन बनिबुतो गर्छन् भने जासो होटलमा काम गर्छिन् । आमा जासो बेलुका मात्र घरमा आउने र बिहानै घरबाट हिडेपछि छोराछोरीहरु घरमा खाने नभएर अरुकै घरमा चाहारेर हिड्नु परेको छिमेकी अन्जु चौधरी ऋषिदेवले बताइन् । ‘बाउआमाका कारण छोराछोरीको विजोग भएको हो ’ उनले भनिन् ।

राम्ररी काम नगर्ने बाबु शत्रुधन र जासो अधिकांश समय मादक पदार्थले मातेका भेटिन्छन् । अत्यन्त विपन्न अबस्थाका ऋषिदेव दम्पतीलाई छिमेकीहरुले निकै पहिल्यै परिवार नियोजन गर्न सल्लाह दिएका थिए । तर, उनीहरुले अझै मानेका छैनन् । वर्षेनि बच्चा जन्माएपनि स्याहार सुसार गर्न सकिरहेका छैनन् । उचित पालनपोषणको अभावमा उनीहरुका छोराछोरी कुपोषित भएको छिमेकीहरु बताउँछन् । माया, ममता, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउनु बालबालिकाहरुको नैसर्गिक अधिकार हो । मुसहर बालबालिकाहरु त्यस बाल अधिकारबाट बञ्चित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्