झापा ,भदौ ३१ । शिवसताक्षी नगरपालिकामा एक बृद्धको रुखमा चढेर घाँस काट्ने क्रममा मृत्यु भएको छ ।

शिवसताक्षी ८ रत्न चौक निवासी ७५ वर्षीय सन्तबहादुर तामाङको रुखमा चढेर घाँस काट्दै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । बिहान ७.३० बजेतिर सन्तबहादुर घरनजिकैको ४० फुट अग्लो खरीको रुखमा बाख्राका लागि घाँस काट्न चढेका थिए । घाँस काट्दै गर्दा एक्कासि बेहोस भई उनी रुखको हाँगाको कापमा अड्किएका थिए ।

उनी रुखमा घाँस काट्दै गर्दा रुखमुनि श्रीमती फुलमाया तामाङ र छोरा कुमार दोर्जे तामाङ घाँस बटुल्दै थिए । तामाङ रुखमा अड्किएपछि प्रहरीलाई खबर गरेका थिए । चढेर निकाल्न सक्ने अबस्था नदेखेपछि जेसिबीको सहायताले रुखमा चढेर तामाङलाई निकाल्दा उनको मृत्यु भइसकेको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए । प्रहरीका अनुसार तामाङलाई उच्च रक्तचापको समस्या थियो । उनको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल दमक पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्