झापा,असोज४।उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईसहित शिक्षकका प्रतिनिधिहरुसँग आज बिहान भएको छलफल सकारात्मक भएको दावी सहभागीहरुले गरेका छन् । उनीहरुबीच शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको छ ।विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै बुधबार काठमाडौंमा भेला भएर विरोध प्रदर्शन गरेका शिक्षकहरुका प्रतिनिधिहरुले बिहीबार गृहमन्त्री, शिक्षामन्त्री र शिक्षा मन्त्रालयका सचिवसँग संयुक्त छलफल गरेका थिए ।छलफलमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर सोचेर निष्कर्षमा पुग्नुपर्छ र समस्याको समाधान निकाल्नुपर्ने बताएको मन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए । मन्त्री श्रेष्ठले आन्दोलनलाई शान्तिपूणर् र व्यवस्थित बनाउन आग्रहसमेत गरेका थिए ।‘उहाँहरुले (शिक्षकका प्रतिनिधिहरुले) पनि शान्तिपूणर् र मर्यादित बनाउन ध्यान दिन्छौं भन्नुभयो,’ गौतमले भने, ‘आजको छलफल एकदमै सकारात्मक भयो । अब छिट्टै औपचारिक वार्तामा बस्ने कुरा छ ।’छलफलमा सहभागी शिक्षा मन्त्री राईले परिणाममुखी वार्ताका लागि समन्वय गर्ने बताए । शिक्षकहरुका जायज माग सम्बोधनका लागि अर्थ र कानुन मन्त्रालयका प्रतिनिधिहरुसँग पनि छलफल गर्ने उनले बताएका थिए ।छलफलमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकका केही व्यवस्था संशोधनको माग गर्दै देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरेका छन् । उनीहरुले बिहीबार दोस्रो दिन पनि माइतीघरबाट नयाँबानेश्वरसम्म आएर फेरि माइतीघर फर्किने र कोणसभा गर्ने जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्