झापा , असोज ४ । भारत उत्तराखण्डको स्पेसल टास्क फोर्स (एसटीएफ)ले मुम्बईका पत्रकार ज्योतिर्मय डे (जे डे)को हत्यामा संलग्न एक अभियुक्तलाई बनवासास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको छ ।

दीपक दलवीरसिंह सिसौदिया नामक उनी अन्डरवर्ल्ड डन छोटा राजनका निकटस्थ व्यक्ति हुन्। उत्तराखण्डको चम्पावत जिल्लाबाट उनी पक्राउ परेका हुन्, जुन नेपालतर्फ कञ्चनपुर जिल्लाको सीमावर्ती पर्छ।
पत्रकार डेको हत्यापछि पक्राउ परेका उनलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। गत वर्ष जनवरीमा पेरोल प्राप्त गरेलगत्तै उनी फरार थिए।

सिसौदिया नैनीतालस्थित हल्दवानीका स्थायी बासिन्दा हुन्। छोटा राजनको निर्देशनमा उनले ११ जुन २०११ मा पत्रकार डेको हत्या गरेका थिए। डे मुम्बईमा अपराध बिटमा कलम चलाउने विख्यात पत्रकार थिए।
सिसौदियाले जनवरी २०२२ मा अमरावती जेलबाट ४५ दिनको पेरोल पाएका थिए। त्यसअनुसार उनी सोही वर्ष मार्चमा जेलमा फर्किनुपर्ने थियो। तर, फरार भएका थिए।

फरार भएपछि मुम्बई प्रहरीले हल्दवानी प्रहरीमा उनीविरुद्ध उजुरी दर्ता गरेको थियो। एसपी सुमित पाण्डेको नेतृत्वमा रहेको एसटीएफ टोलीले उनलाई बनवासाबाट नियन्त्रणमा लिएको हो। उनलाई मुम्बई जेल पठाउने तयारी भइरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्