दमक, असोज ४ ।नेपाल शिक्षक महासंघले अनिश्चितकालीन विद्यालय बन्द गरेर आन्दोलन घोषणा गरेपछि त्यसको विरुद्धमा अभिभावकहरू उत्रिन थालेका छन् ।

आन्दोलित शिक्षकहरुलाई काउन्टर दिन अभिभावकहरुले निजी स्रोतका शिक्षकहरुद्वारा पठनपाठन गराउन थालेका हुन् । शिक्षक महासंघले आफ्नो मागका लागि आन्दोलन गरेर ७० लाख विद्यार्थीको पढाइ अवरुद्ध पार्नु गलत भएको कमल गाउँपालिका ६ का अभिभावक भीम पौडेलले बताए । स्थानीय वाणी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका पौडेलले विद्यार्थीलाई विद्यालय बोलाएर निजी स्रोतका शिक्षकहरुद्वारा अध्यापन गर्न लगाएको बताए । विद्यालय बन्द गरेर बालबालिकाको भविष्यमाथि सरकारी दरबन्दी भएका सामुदायिक विद्यालयका शिक्षकहरुले खेलवाड गरेको उनले आरोप लगाए ।

‘नेपाल शिक्षक महासंघको अधिकांश माग जायज नभएपनि केही माग जायज छ । नैतिकरूपमा नेपाल शिक्षक महासंघको आन्दोलनमा सहमति रहेपनि विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार हनन् गर्ने छुट कसैलाई छैन,’ उनले भने। विधेयकमा भएका केही त्रुटीपूर्ण प्रावधानहरू सच्याउनु पर्ने भन्दै शिक्षकले पाउने बिदा सहुलियत, निजामती कर्मचारीको सेवा सुविधासरह शिक्षकको सेवा सुविधा हुनु पर्ने जिकिर अर्का अभिभावक रामबहादुर दाहालले गरे । शिक्षक बन्न स्नातक हुनैपर्ने भनिएजस्तै शाखा अधिकृत सरह, मावि शिक्षकको तलवमान पनि उपसचिव सरहको हुनुपर्ने र सरोकारवाला शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षाविद्सँग गहन छलफल गरेरमात्र विधेयक पारित गर्नु पर्ने सुझाव अभिभावकको छ ।

शिक्षकका मागहरुमा अभिभावकको ऐक्यवद्धता भएपनि विद्यालय नै गरेर शिक्षक शिक्षिका आन्दोलनमा होमिनु नाजायज भएको उनले टिप्पणी गरे । बालबालिकाको पढ्न पाउने अधिकारलाई रक्षा गर्दै वाणी माध्यामिक विद्यालयले बिहीबारदेखि नियमित पठनपाठन सुरु गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

दरबन्दीका शिक्षक विद्यालय नआउँदा निजी शिक्षकहरुले पठनपाठन सुरु गरेको समितिका सदस्य पौडेलले जानकारी दिएका छन् । निजी स्रोतका शिक्षक विद्यालयमा अभाव भए स्वयंसेवक शिक्षकबाट पनि विद्यालयमा नियमित पठनपाठन हुने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्