झापा, असोज ७ । रंगकर्मी माधव कल्पित यतिबेला इलामको सन्दकपुर –३ तालगाउँमा कोशी प्रदेशकै पहिलो अत्रेश्वर शिव मन्दिर निर्माणमा जुटेका छन् ।

धार्मिक तथा साँस्कृतिक धरोहरलाई बचाइराख्ने उद्देश्यका साथ सडकदेखि सदनसम्म एक इटा माग्दै हिडेका कल्पित अहिले आफ्नै जन्मथलो साविक सुलुबुङ –५ तालगाउँमा आफूलगायत आफ्नो परिवारको तर्फबाट मन्दिर निर्माणका लागि करिव २० लाख मूल्य बराबरको २ रोपनी जग्गा निःशुल्क प्रदान गरी निर्माण कार्यमा निरन्तर जुटिरहेको निर्माण समितिका सचिव गोपाल खतिवडाले जानकारी दिएका छन् ।

बहुजातीय, साँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर प्रबेशद्वार बिर्तामोड १ देवी पञ्चकन्यामा क्षितिज नाट्य प्रतिष्ठानको समेत सहकार्यमा करिव ३ बर्षअघि ३८ फुट अग्लो सम्भवतः कोशी प्रदेशकै पहिलो शिव प्रतिमा अनावरण भएको थियो । इलामको सन्दकपुर –३ मा बन्न लागेको सो मन्दिरमा ४२ फुट अग्लो भगवान् शिवको मुर्ति निर्माण गरिने अभियन्ता कल्पितले जानकारी दिएका छन् ।

आफ्ना स्वर्गबासी पिता अभिचन्द्र खतिवडा र माता रत्नकुमारी खतिवडाको नाममा गठित अभिरत्न स्मृति प्रतिष्ठानका सदस्य सन्ततिहरु डिल्लीराम ÷ यादव प्रसाद ÷ रुद्रप्रसाद खतिवडा र माधब कल्पितले जग्गा खरिद गरी मन्दिर निर्माणका लागि गत बर्ष समितिलाई हस्तान्तरण गरेका थिए । आवश्यक स्रोत र साधन जुटाउन नसकेर मुश्किल परिरहेपनि कल्पितले दशैअगावै पूर्णता दिने गरी आफू लागेको बताएका छन् ।

आगामी बिजया दशमीअगावै मन्दिरको निर्माण कार्य सम्पन्न गरी घटस्थापनाका दिन सो क्षेत्रका ५ सय घरपरिवारबाट कलश यात्रासहित सो स्थानमा सामूहिक ५ सय टपरा जमरा राख्दै नौ दिनसम्म शक्तिस्वरुपिणी माता देवी भगवतीको पुजाआराधना गर्ने , स्थापित देवी देवताको बैदिक विधिअनुसार प्राणप्रतिष्ठा भर्ने र दशमीको दिन समाजमा तल्लो जाति भनेर उपेक्षा गरिएको जेष्ठ नागरिकको खोजी गरी उनकै हातबाट सबैले सामूहिक टीका ग्रहण गरी मन्दिरको पुजा बिधिलाई सार्वजनिक गर्ने कल्पित बताउँछन् । पबित्र देवस्थल तथा माईपोखरी ,माईनदीको शिर तथा पर्यटकीय क्षेत्र सूर्याेदयको पहिलो स्थल सन्दकपुरको काखमा अबस्थित यो स्थान अहिलेसम्म विकास निर्माण र धार्मिक, पर्यटकीय हिसावले पनि सरकारको नजरमा पर्न नसकेका कारण स्थानीय धर्मानुरागी भक्तजनहरुको चाहना र भावनाको कदर गर्दै मन्दिर निर्माणमा जग्गासमेत दान दिँदै लागिपरेको उनको भनाइ छ ।

करिव ५० लाखको लगानीमा निर्माण गरिने उक्त मन्दिरको सबैभन्दा ठुलो आकर्षण भनेको ४२ फुट अग्लो शिवको प्रतिमा हुनेछ । जुन अनावरणपश्चात् माईपोखरी , सुलुबुङ, जमुना, माबु, माइमझुवा, प्याङ नाम्सालिङ, सिरिसे ,सुम्बेकलगायतका क्षेत्रबाट देख्न सकिने छ ।यसबाट आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा समेत योगदान पुग्ने र सो क्षेत्रका भक्तजनको समेत धार्मिक आस्थाको चाहना पूरा हुन सक्ने निर्माण समितिका अध्यक्ष तुलसीप्रसाद खतिवडाले बताए । ४२ फुट अग्लो शिवजीको प्रतिमा अनावरणका लागि दमक निवासी लक्ष्मीप्रसाद संग्रौला, साङ्गबेद संस्कृति विद्यालय चारपानेका ब्यासाचार्य किशोर गौतम, अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नवीन गट्टानीलगायतका दानवीरसंग छलफल भइरहेको र निर्माण कार्यले पूर्णता पाउनेमा आफू बिश्वस्त रहेको अभियन्ता कल्पितले बताए । शिव प्रतिमा अनावरणबाहेकका निर्माण कार्य पूरा गर्न सबैतिरबाट सहयोग जुटिरहेको उनले जानकारी दिएका छन् ।

क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कल्पितले बिर्तामोड १ मा कोशी प्रदेशकै पहिलो ऐतिहासिक धरोहरको रुपमा बहुजातीय,बहुभाषी,बहु साँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माण गरिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्