झापा, असोज ७ । गत भदौ ७ गते साँझ ६.५० बजे मोटरसाइकललाई रोक्न खोज्दा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक युवराज कटुवालमाथि धारिलो हतियार प्रहार भयो ।

शिवसताक्षी नगरपालिका वडा नं. ९ झरना खोलाको पुलनजिक मोटरसाइकलमा आएका तीन जनाले उनीमाथि हाते बन्चरो प्रहार गरे । उनको टाउकोमा ८ टाँका र हातको औलामा ३ टाँका लगाउनु पर्यो ।

त्यस्तै गत असार ४ गते राति बिर्तामोड– ६ बुट्टाबारीमा चेकजाँच गरिरहेका दुईजना प्रहरी भारतीय कारको ठक्करबाट घाइते भए ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको wb 74AA1794 नं को भारतीय कारले ठक्कर दिँदा सहायक हवल्दार शिवनारायण महत्तो र प्रहरी जवान दिपेन्द्र गुरुमैता घाइते भए । उनीहरुलाई बिएण्डसी हस्पिटलमा उपचार गरियो ।

त्यस्तै गत साउन ४ गते बिहान पूर्वपश्चिम राजमार्गको ब्यस्त सडकमा ट्राफिक प्रहरीले बिनासंकेत सवारीसाधन चेकजाँच गर्दा एक युवकले ज्यान गुमाउनु पर्यो । कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुरमा हातको इशाराले सवारी रोक्न भनिरहेका ट्राफिक प्रहरीलाई देखेर भाग्ने क्रममा अर्को सवारी साधनसँग जुध्दा मोटरसाइकल चालक गौरादह नगरपालिकाका ३० वर्षीय कुमार दर्जीको मृत्यु भयो ।

झापामा अव्यवस्थित ट्राफिक चेकजाँचका क्रममा भएका यी केही उदाहरणीय घटना हुन् । यसरी जथाभावी सवारी चेकजाँच गर्दा चेकजाँचमा खटिएका प्रहरी स्वयं आफै असुरक्षित छन् भने अरुलाई पनि खतरामा पारिरहेका छन् । निश्चित र फराकिलो ठाउँमा नबसी बिनासंकेत जथाभावी गरिने चेकजाँचले अझ धेरै दुर्घटना निम्त्याउने देखिन्छ । यस्ता घटनाप्रति आफूहरु संवेदनशील बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।उनले केही महिनायता ट्राफिक चेकजाँचमा सुरक्षा चुनौती देखिएको बताउँदै त्यसतर्फ आफूहरु सजग रहेको जानकारी दिए । जहीतही चेकजाँच गर्ने कामलाई हटाएर निश्चित र फराकिलो ठाउँमा मात्र चेकजाँचको व्यवस्था मिलाइने उनको भनाइ छ ।

उनले दुर्घटना कम गर्न र दुर्घटना गराएर भाग्ने सवारीसाधनलाई पक्राउ गर्न विभिन्न ठाउँमा सीसीटीभी क्यामेरा राख्ने पहल भइरहेको जानकारी दिए । शिवसताक्षी नगरपालिकासंगको सहकार्यमा माइधारमा दुईवटा सीसीटीभी क्यामेरा राखिएको छ । त्यस्तै मेचीनगरको पालिया पुल , कन्काईको जुके कल्भर्ट , कमलको सानो केर्खा , पाडाजुंगी क्षेत्रमा सीसीटीभी राख्ने पहल भइरहेको उनले जानकारी दिए ।

झापामा दुर्घटनाको संख्या घटेपनि मृत्यु बढेको छ । साउन महिनामा ५५ वटा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो भने भदौमा ४२ वटा दुर्घटनामा ७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्