झापा,असोज७। विराटनगर महानगरपालिकाले एकीकृत बाल स्वास्थ्य शिविर सुरु गरेको छ । विराटनगरका सबै वडामा क्रमशः शिविर सञ्चालन गरेर पाँच वर्षमुनिका बालबालिकाको पोषण लेखाजोखा गरिने भएको हो । महानगरले वडा १९ स्थित वैजनाथपुर अस्पतालमा शुक्रबार सेवाको शुभारम्भ गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । शिविरमा बालरोग विशेषज्ञ, पोषण विशेषज्ञ, स्वास्थ्य परामर्शदाता, स्वास्थ्यकर्मी, नर्सिङ कर्मचारी लगायतले सेवा दिनेछन् ।बिराटनगर महानगरपालिका कार्यवाहक मेयर शिल्पा निराला कार्कीले पाँच वर्षभन्दा मुनिका बालबालिकाको पोषण लेखाजोखा गरेर पोषणयुक्त सामग्री वितरणदेखि औषधिसम्म निःशुल्क प्रदान गर्ने लक्ष्यसहित विशेष प्रकारको शिविर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार महानगरपालिका भित्रका बालबालिका कुपोषणको सिकार हुनबाट जोगाउने लक्ष्य र उनीहरूको स्वास्थ्य अवस्था बुझ्न शिविर सञ्चालनमा ल्याइएको बताउनुभयो । विराटनगरका १९ वटै वडामा यो टोलिले शिविर सञ्चालन गर्नेछ । जसमा सहभागी गराइएका पाँच वर्षमुनिका बालबालिकाको पोषणस्थिति पत्ता लगाइने छ । बालबालिकाको पाखुराको जाँचका साथै उचाइ र तौलसमेत जाँचगरी पोषणको लेखाजोखा गरेर आवश्यक पर्दा पोषणयुक्त खाद्यवस्तु वितरण गर्ने कार्यक्रम राखिएको छ । कुपोषण भएका बालबालिकालाई बालरोग विशेषज्ञ तथा पोषण विज्ञको सल्लाहअनुसार तीन महिनासम्म पोषण सामग्री प्रदान गर्ने कार्यक्रम राखिएको छ । पोषण सामग्रीमा चना, दाल, दूध, केरा, अण्डा, चामलसमेत उपलब्ध गराउने र उनीहरूलाई तीन महिनासम्म नियमित परीक्षण र अभिभावकलाई परामर्शमा राखिने कार्यवाहक मेयर कार्कीले जानकारी दिनुभयो । शिविरमा आउने सबै बालबालिकालाई सरसफाइ प्रवर्धन गर्न हात धुने साबुनसमेत प्रदान गरिनेछ ।बिरामी पत्ता लागेका बालबालिकालाई निःशुल्क औषधि प्रदान गर्नुका साथै रेफर गर्नुपरेको अवस्थामा अस्पतालसँग समन्वयगरी निःशुल्क उपचारको व्यवस्था मिलाइने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्