झापा, असोज ८ । दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउतले हनी ट्रयापमा पारेर आफूलाई आत्महत्या गर्न लगाएको सुसाइड नोटमा आरोप लगाएका छन् ।

उनले आफूसंगै सहकारीमा काम गर्ने महिला कर्मचारीलाई पटकपटक नगद र विभिन्न सामान दिएको उल्लेख गर्दै नदिए सामाजिक संजालमा भाइरल बनाइदिने भन्दै ती महिलाले धम्की दिएको आरोप लगाएका हुन्। सुसाइड नोटअनुसार राउतबाट ८० हजार रुपैयाँ लिएकी ती महिलाले पछि फेरि एक लाख रुपैयाँ मागेकी थिइन् । त्यस्तै राउतले स्कुटी , सुनको सिक्री , कानको झुम्का , मोबाइल र पटकपटक लुगा किनिदिएको सुसाइड नोटमा उल्लेख गरेका छन् । काठमाडौमा आफूहरुबीच पहिलो भेट भएको र ती महिलाले नै प्रस्ताव गर्दा आफूले स्वीकार गरेको उल्लेख गरेका राउतले काठमाडौको होटलमा दुई पटक शारीरिक सम्पर्क भएको लेखेका छन् । त्यसपछि एउटै सहकारीमा काम गर्दा लामो समयसम्म सम्बन्ध बनेको उनले जनाएका छन् ।

‘सुसाइड नोटलाई आधार मान्ने हो भने ती महिला कर्मचारीले हनी ट्रयापमा पारेर आत्महत्या दुरुत्साहन गरेको देखिन्छ ’एक प्रहरी अधिकारीले भने । उनले मृतक राउतसंग ती महिला कर्मचारीले रकम र सामान असुलेको कुरा सुसाइड नोटमा उल्लेख भएको जानकारी दिए । मेची बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत कर्जा अधिकृत राउत र ती महिला कर्मचारीबीच विवाह इतर सम्बन्ध रहेको कुरा सहकारीका धेरै कर्मचारीले थाहा पाएका थिए ।

मृतक राउत र ती महिला कर्मचारीबीचको सम्बन्धबारे फरकफरक कोणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । सुसाइड नोट, मृतक परिवारको किटानी जाहेरीलगायतका आधारमा आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गराइएको जानकारी दिए ।

राउत मृत्यु प्रकरणमा ती महिला कर्मचारीविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएको छ ।
मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सोही सहकारीमा कार्यरत न्यौपाने थरकी महिला कर्मचारीविरुद्ध इलाका प्रहरी कार्यालय दमकले मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनलाई घटना भएकै राति प्रहरीले पक्राउ गरेको थियो ।आत्महत्या दुरुत्साहन आरोप प्रमाणित भए अदालतले पाँच वर्षसम्मको सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ । मृतक राउतको परिवारले ती महिला कर्मचारीविरुद्ध किटानी जाहेरी दिइसकेका छन् ।

बिहीबार अपराह्न दमक– ५ स्थित अन्नपूर्ण होटलको तेस्रो तलाको एक कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएका राउतले छोडेको सुसाइड नोटका आधारमा परिवारले प्रहरीमा किटानी जाहेरी दिएका थिए । ३७ वर्षीय राउत बिहीबार बिहान करिब ९ बजेदेखि एकाएक घरपरिवार र कार्यालयको सम्पर्क बाहिर थिए । प्रहरीले राउतले प्रयोग गर्दै आएको मोबाइल फोनबाट लोकेसन ट्रयाक गर्दै दमक– ५ स्थित मंगलदिप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्य भागमा रहेको अन्नपूर्ण होटल एन्ड लजको तेस्रो तलामा पुगेको थियो । त्यहाँ उनी बन्द कोठाभित्र फेन झुन्ड्याउने फलामको हुकमा डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्