झापा,असोज१०। प्रहरीले विराटनगर-१८ लाभाघाटबाट गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले को १ च ४६१९ नम्बरको एम्बुलेन्समा गाँजा लैजाँदै गरेको अवस्थामा चालकलाई पक्राउ गरेको हो ।मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार विशेष सूचनाका आधारमा त्यहाँ पुगेको एम्बुलेन्सलाई चेकजाँच गरिएको थियो । दशगजातर्फ गइरहेको एम्बुलेन्स चेकजाँच गर्दा डिकीमा लुकाएको अवस्थामा २१.५ केजी गाँजा बरामद भएको थियो ।राजन अधिकारी फाउण्डेसन धरानद्वारा सञ्चालित एम्बुलेन्सका चालक ३८ वर्षीय गङ्गा सरकारलाई प्रहरीले गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । सरकारको साथबाट ४० हजार रुपियाँसमेत बरामद भएको छ । चालक धरान-११ निवासी हुन् ।सीमानजिक एम्बुलेन्समा गाँजा बरामद भएपछि आसपास खोजतलास गरिएको थियो । त्यस क्रममा भारतीय बीआर ३८ एएफ ०३३६ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको जानकारी दिइएको छ ।यसैगरी, विराटनगर-१८ बाटै खेतमा परालले छोपेर राखेको १६.५ केजी गाँजा त प्रहरीले बरामद गरेको छ । प्रहरीले सीमा नजिकबाट एकैदिन ४२ केजी गाँजा बरामद गरेको हो । गाँजा पक्राउ परेको स्थानदेखि सीमाक्षेत्र नजिकै पर्दछ । आईसिपी नजिक रहेको यो क्षेत्रबाट एक किलोमिटर दूरीमा सीमाक्षेत्र छ । पक्राउ परेका चालक, नियन्त्रण गरिएको एम्बुलेन्स र बरामद गाँजाको विषयमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्