बिर्तामोड, असोज १० । छुट्टै बालबालिकाको लागि संचालित झापा बिर्तामोडको बिर्तामोड चिल्ड्रेन हस्पिटल नमूना अस्पताल बन्दै गएको छ । 

अस्पतालले दिने गरेको स्तरीय सेवा सुविधाका कारण सो अस्पतालप्रति विरामीहरुको आकर्षण बढ्दै गएको हो । सो अस्पतालले एक बर्षको अवधिमा १ हजार ६७० जना बालबालिकाको उपचार गरेको छ । प्रथम वार्षिकोत्सवका अवसरमा अस्पतालका प्रवन्ध निर्देशक डा. रुपक आचार्यले यस अवधिमा १ हजार ६३२ जनालाई डिस्चार्ज गरिएको , तीन जनालाई अन्यत्र रेफर गरिएको, ३५ जनाको हाल उपचार भईरहेको जानकारी दिए । गत भदौ महिनामा मात्र २६१ जना बालबालिका अस्पतालमा भर्ना भएका थिए । झापासहित ताप्लेजुङ ,पाँचथर ,विराटनगर , इटहरीलगायतका क्षेत्रबाट विरामीहरु आउने गरेको डा. आचार्यले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा दक्ष टीम, मोर्डन फेसिलिटी,बालबालिकाका लागि फ्रेन्डली इन्भाइरोमेन्ट,वातानुकूलित केबिन, नर्सरी वार्ड ,चौबीसै घण्टा इमर्जेन्सी , चौबीसै घण्टा फार्मेसी, अत्याधुनिक ल्याबलगायतका सेवा उपलब्ध रहेको छ । उनले केही दिनमा एनआइसियु , पिआइसियु,अटिजम स्क्रिनिङजस्ता सेवाहरु थप गर्न लागिएको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि चिकित्सक संघ झापाका निवर्तमान अध्यक्ष डा. पिताम्बर ठाकुरले सुविधासम्पन्न अस्पताल निर्माण तथा दक्ष चिकित्सकबाट उपचार हुन थालेपछि बाल मृत्युदर घटेको दावी गरेका छन् । उनले स्वास्थ्य सेवाको हब बिर्तामोडमा छुट्टै बाल अस्पताल सञ्चालन हुनु यहाँको लागि गौरव भएको बताए ।

केही समययता स्वास्थ्य उपचार गर्ने चिकित्सकमाथि लगातार भइरहेको आक्रमणले बिरामीको उपचार गर्न त्रासको वातावरण बन्दै गएको उनले बताए । भयरहित वातावरणमा उपचार गर्न पाउने अवस्था निर्माण नभए नेपालका अधिकांश चिकित्सक बिदेश पलायन हुने समेत उनले बताए ।

अस्पतालका कार्यकारी प्रमुख डा. सुजाता मैनाली आचार्यले आर्थिक अभाव भएका बिरामीलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको जानकारी दिइन् । उनले दक्ष र अनुभवी चिकित्सकले उपचार गर्ने हुँदा बालबालिकाको उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था नरहेको बताइन् ।

जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्काले गुणस्तरीय उपचार गर्ने अस्पतालको स्थापनाले उपचारको अभाबमा टाढा जानुपर्ने बाध्यता हटेको बताइन् । सुविधासम्पन्न बाल अस्पताल सञ्चालन गरेर सामाजिक क्षेत्रमा योगदान गरेको उनले बताइन् ।

हस्पिटलका अध्यक्ष लीला मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष लक्ष्मी न्यौपाने सरु, महिला दवाव समुहकी अध्यक्ष शारदा रिजाल, हस्पिटलका नर्सिङ बिभाग प्रमुख मञ्जु गुरुङ, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन नैनकला भट्टराईले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्