बिर्तामोड, असोज १० । सभामुख देवराज घिमिरेसमक्ष बिर्तामोडवासीहरुले समस्याको चाङ राखेका छन् ।

झापा क्षेत्र नं २ का निर्वाचित सांसदसमेत रहेका सभामुख घिमिरेसमक्ष नगरवासीहरुले सानादेखि ठूलासम्मका समस्या राखेका हुन् । बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले त समस्या र संभावनाले भरिएको एउटा प्रतिवेदन नै वाचन गरेर सभामुखलाई सुनाए । बिर्तामोडबासीले घिमिरेलाई यहाँको विद्यमान समस्या र आगामी योजनाहरुका बारेमा जानकारी गराएका हुन् ।

बिर्तामोड नगरपालिकाले सभामुखसँग छलफल कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा यहाँका नगरवासी, स्थानीय जनप्रतिनिधिहरु र विभिन्न दलहरुका प्रतिनिधिहरुले समस्या र योजनाबारे सभामुख घिमिरेलाई अवगत गराएका थिए ।

अधिकांश सहभागीहरुले बिर्तामोड–भद्रपुर सडकखण्ड निर्माणमा ढिलाई भइरहेको विषयलाई प्राथमिकताका साथ उठाएका छन् । निर्माण पक्षबाट चरम लापरबाही भइरहेको र उक्त सडकलाई तत्काल निर्माणका लागि दवाव दिनुपर्ने अधिकांशको माग थियो । झापा क्षेत्र नं. २ मा निर्माण व्यवसायीहरुले अलपत्र बनाएका योजनाहरुबारे सभामुख घिमिरेलाई जानकारी गराइएको छ ।

सभामुख घिमिरेलाई विराटपोखरीको विकासमा सरकारको तर्फबाट पर्याप्त लगानी हुनुपर्ने माग उठेको छ । विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष इन्द्र प्रसाईले विराटपोखरीको विकास र प्रवद्र्धनमा सरकारको तर्फबाट पर्याप्त सहयोगको अपेक्षा राखेको जानकारी दिए ।

यस क्षेत्रको स्वास्थ्य, शिक्षामा पर्याप्त लगानी गरेर रोजगारको समेत सिर्जना गर्न सभामुख घिमिरेलाई आग्रह गरिएको छ । झापा २ बाट निर्वाचित घिमिरेलाई सहभागीहरुले किसानको उत्पादनलाई बजारीकरणमा कठिनाई भएको विषय ध्यानाकर्षण गराइएको छ । कृषि मार्फत अत्याधिक रोजगारी सिर्जना गर्न सकिने भन्दै कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने सहभागीहरुको भनाई थियो ।

यस्तै, ऐन कानुन निर्माण नहुँदा तल्लो तहसम्म लथालिङ्ग अवस्था बनेको भन्दै सभामुख घिमिरेलाई कानुन निर्माणमा ध्यान दिन आग्रह गरिएको छ । बिर्तामोडको शहिद राम थापा मार्ग निर्माण नहुँदा ठुलो समस्या आएको भन्दै तत्काल निर्माणमा चासो दिन सभामुखसँग निवेदन गरिएको छ ।

बिर्तामोडमा रहेको इन्द्रचन्द्र क्याम्पसमा भौतिक पूर्वाधारको अभाव भएको जानकारी गराइएको छ । पूर्वी पहाडी क्षेत्रबाट ठुलो संख्यामा विद्यार्थीहरु अध्ययन गर्न आउने क्याम्पसमा पूर्वाधारको व्यवस्थापन गर्नुपर्ने बताइएको छ ।

बिर्तामोडको औद्योगिक क्षेत्र अस्तव्यस्त भएको भन्दै जनप्रतिनिधिहरुले व्यवस्थापन मिलाउन आवश्यक पूर्वाधार निर्माण गरिनुपर्ने धारणा राखेका थिए । निर्माणाधिन बाटो रोकिएको, सुरक्षा चुनौति बढेको समस्याहरु सभामुखलाई अवगत गराइएको छ ।

सभामुखसमक्ष सुकुम्बासी समस्या समाधानका लागि आवश्यक पहल गर्न माग गरिएको थियो । तीन दिवसीय गृह जिल्ला भ्रमणमा आएका सभामुखलाई पूर्व जनप्रतिनिधि राजेन्द्रप्रसाद लिङ्देन, विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष इन्द्र प्रसाई, वडाध्यक्षहरु अग्नि पाण्डे, मदन बुढाथोकी, किशोरकुमार पौडेल, सूर्यप्रसाद कन्दङ्वा, कृष्ण अविरल खरेल,हरि चौलागाई , राप्रपाबाट रञ्जु प्याकुरेल, पत्रकार गणेश पोखरेल, माओवादी बिर्तामोड इञ्चार्ज कमल कडरियालगायतले समस्या तथा आगामी योजनाहरुबाट बारेमा धारणा राखेका थिए ।
सभामुख घिमिरेले तीन दिने झापा बसाईका क्रममा निर्माणाधिन योजनाको अनुगमन गरिरहेको जानकारी दिए । ढिलाई भएका काममा निर्माण पक्षलाई राखेर कुरा राख्ने काम भएको बताए । उनले सहभागीहरुले उठाएका आगामी योजनाबारे ध्यानाकर्षण भएको बताएका छन् । सरकार र स्थानीय जनप्रतिनिधिमार्फत अन्य योजनाहरु निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोड नगरपालिकाले विकासमा सधैं सबैसँग हातेमालो गर्दै आएको बताइन् । उनले आगामी दिनमा थप सहकार्य गर्दै जाने धारणा राखिन् । बिर्तामोड नगरपालिकामा सभामुख घिमिरेको पहलमा यस वर्ष ३८ करोड ११लाख ५० हजार रुपैयाँको ४७ वटा संघीय योजना परेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्