झापा, असोज १४ । हिजो बिहान अचानक आएको हावाहुरीले सुनसरीको पटनाली जंगलमा रुख ढल्दा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार करिब सवा १० बजे रामधुनी नगरपालिका ६ झुम्काका ६० बर्षीय मुनरलाल चौधरीको मृत्यु भएको हो । बराहक्षेत्र नगरपालिका ३ स्थित पटनाली जंगलमा पर्ने मदन भण्डारी राजमार्गमा पकलीबाट चतरातर्फ जार्दै गर्दा को २९ प ५५०२ नम्बरको स्कुटरलाई सखुवाको रुख ढल्दा लागेको थियो । उक्त रुखको हाँगाले लागेर स्कुटरमा पछाडि सवार चौधरी घाइते भएका थिए ।

घाइते चौधरीलाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । चौधरीको टाउकोमा चोट लागेको थियो । प्रतिष्ठानका चिकित्सकहरुले ११ बजेर २० मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । स्कुटी चालक २० बर्षीय सुरज चौधरीलाई भने केही पनि भएको छैन ।

यता वर्षासँगै आएको हावाहुरीले गौरीगञ्ज गाउँपालिका वडा नं. ६ कन्चिरा बस्ने अख्तर आलमको घरको छाना उडाएको छ । वर्षासंगै आएको हावाहुरीले टिनको छाना उडाउँदा करिब १ लाख रुपैयाँ बरावरको क्षति भएको वडा सदस्य आसामुदिन मियाँले जानकारी दिएका छन् । टिनसहित काठले बनाएको घरको छाना उडेपछि पानीले घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र अन्य सबै सामानहरु भिजेर क्षति भएको छ । हिजो बिहान अचानक ठुलो हावाहुरीसंगै बर्षा भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्