झापा, असोज १६ । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा विजयी भएका छन् ।

आज राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् । खतिवडा ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी विनोदप्रसाद ढकालले ४३० मत ल्याए । ३५ मत बदर भएको छ ।

खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुन् । ढकाल केन्द्रीय कमिटी सदस्य थिए । प्रदेश अध्यक्षमा विजयी भएसँगै खतिवडाले मोरङको पाँचौ जिल्ला अधिवेशनमा हारेको बदला लिएका छन् । सो अधिवेशनमा ढकालले खतिवडालाई हराएका थिए । यसपछि उनीहरूबीचमा प्रतिस्पर्धा भएको थिएन ।

पार्टीकाे पाँचाै जिल्ला अधिवेशनमा तत्कालिन ओली पक्षका ढकालसँग अध्यक्षमा पराजय बेहाेरेका तत्कालिन माधव नेपाल पक्षका खतिवडाले प्रदेश अध्यक्षमा पार्टी अध्यक्ष ओलीकाे साथ पाएर उनलाई पराजित गरेका हुन् ।

पार्टी अध्यक्ष ओलीकाे प्रथम काेशी प्रदेश अधिवेशनमा सर्वसम्मत गर्ने निर्देशनलाई चुनाैति दिँदै ढकाल र खतिवडा प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रेकाथिए ।

खतिवडा मदन भण्डारीसंग काम गरेका नेता भएपनि एमालेको प्रमुख नेतृत्वमा आएका थिएनन् । मोरङको साविक लेटाङ गाविसको अध्यक्ष भएका खतिवडा २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । उनले कांग्रेसका डिकबहादुर लिम्बूलाई पराजित गरेका थिए ।२०७९ को निर्वाचनमा भने उनी लिम्बूसँगै पराजित भएका थिए ।

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन् । सबैजना खतिवडाकै प्यानलबाट विजयी भएका हुन् । सचिवमा पाँचथरका राजकुमार भण्डारीले ५३४ मत प्राप्त गरे ।उनका प्रतिष्पर्धी उदयपुरका शैलेश लामाले ३८१ मत पाए ।

यस्तै उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत प्राप्त गरेर विजयी भइन् । अर्का उपसचिवमा खोटाङका देवान राईले ६१० मत प्राप्त गरे । उपसचिवमा ढकाल प्यानलका माेरङका खेम नेपाली ३९७ मत ल्याएर पराजित भएका छन् । खतिवडा प्यानलका उपसचिवका अर्का उम्मेदवार भविश्वर गुरूङ्ले उम्मेदवारी फिर्ता लिएर ढकाल प्यानलका देउमानलाई आफ्नाे प्यानलमा ल्याएर विजयी गराएका छन् ।सदस्यहरुको मतगणना जारी रहेको छ ।उपाध्यक्षमा भने धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्