झापा, असोज १९ । तराई मधेसका महिलाले आज जितिया पर्वको निराहार व्रत शुरु गरेका छन्।

आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै व्रत शुरु भएको हो।
मध्यरातअघि ‘ओगटन’ (दर) खाएर व्रत शुरु गरेका महिलाले शनिबार नवमी तिथि लागेपछि सो एक घडी कटाएर व्रत समापन गर्नेछन्।

आश्विन कृष्ण अर्थात् पितृपक्षको अष्टमी तिथिमा सन्तानको कल्याण कामनाका साथ आमाहरूले गर्ने यो पर्वको व्रत विधि कठोर मानिन्छ। एक अहोरात्रको यो पर्व सामान्यतया सप्तमी एक घडी बाँकी छँदै सुरु भएर नवमी एक घडी बिताएर समापन गरिन्छ । तर यसपालि अष्टमी आज बिहान साढे नौ बजेअघि (९.२७) सुरु हुने भए पनि पारम्परिक चलनअनुसार बितेको मध्यरातसँगै व्रत शुरु गरेका हुन्।

महिलाले अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ। पितृपक्ष शरु हुनासाथै व्रतका लागि आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुटेका मिथिलानीले यसपालिको यो पर्वको व्रत शनिबार बिहान साढे ९ बजेतिर नवमी लागेपछि एक घडी कटाएर समापन गर्नेछन्। व्रत सुरु गर्नुअघि व्रतालुले दही, चिउरा र अमोट (जमाएर राखिएको पाकेको आँपको रस) खाएर ‘ओगटन’ विधि गरेका थिए।

जितिया पर्वको अवसरमा झापा गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ । त्यस्तै जितिया पर्वको अवसरमा इटहरी उपमहानगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्