झापा, असोज २० । मुख्यमन्त्री हिक्मतकुमार कार्की ३० दिनमै पदमुक्त हुँदा उनले नियुक्त गरेका चार मन्त्री १२ दिनमै पदमुक्त भएका छन् ।

भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले दुई पटक गरि ८ जनालाई मन्त्री बनाएका थिए । आफूले शपथ ग्रहण गर्ने बेला २२ गते ४ जनालाई मन्त्री नियुक्त गरेका कार्कीले असोज ८ गते मन्त्रिमण्डलमा ४ जना थपेका थिए । कार्कीले आफूसँगै तिलकुमार मेन्याङ्बो, पाँचकर्ण राई र एकराज कार्कीलाई मन्त्री बनाएका थिए भने सिर्जना राईलाई राज्यमन्त्री बनाएका थिए ।

दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्दा खानेपानी मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका तिलकुमार मेन्याङ्बोलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका कार्कीले पर्यटन, वन तथा वातावरण मन्त्रालय र उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका पाँचकर्ण राईलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पठाएका थिए । एकराज कार्की भौतिक पूर्वाधार विकासमन्त्री बनाएका उनले सिर्जना राईलाई सामाजिक विकास मन्त्रालयको राज्यमन्त्री दिएका थिए ।

कार्कीले असोज ८ गते लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई खानेपानी सिँचाई तथा ऊर्जामन्त्री नियुक्त गरेका थिए । त्यस्तै सुनसरीका रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री र धनकुटाका निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त भएका थिए । अधिकारी, राजभण्डारी, महतो र राई १२ दिनमै पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना, उद्योग कृषि तथा सहकारी र सामाजिक मन्त्रालय भने आफैंसँग राखेका थिए । पछिल्लो पटक नियुक्त भएका मन्त्रीहरु १२ दिन पदमा रहेपनि मन्त्रालयमा भने पद बहालीपछि २–३ पटक मात्र पुगेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्