झापा, असोज २० । प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा परी इजरायलमा ४० जनाको मृत्यु भएको छ ।

आक्रमणमा ७४० जना घाइते भएका छन् । घाइतेमध्ये ७ जना नेपाली विद्यार्थी छन् । नेपाली कृषि विद्यार्थी घाइते भएका हुन् । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन् । उनीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए ।

हर्जेलियामा रहेका इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आक्रमणमा परी ७ जना विद्यार्थी घाइते भएको पुष्टि गरिन् । त्यस्तै उनले सोही कृषि फार्मको आवासमा रहेका घाइते ७ सहित १७ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेको बताइन् ।

‘नेपालीहरूको अवस्थाबारे इजरायली परराष्ट्र मन्त्रालय र उद्धार टोलीलाई खबर गरिसकेका छौँ । आक्रमण जारी रहेकाले विद्यार्थीहरूलाई सतर्क रहन आग्रह गरेका छौँ । विद्यार्थीहरूसँग नियमित सम्पर्क भइराखेको छ,’ उनले भनिन् । विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएका कारण उद्धार गर्न कठिन भइरहेको समेत उनले बताइन् । ’१७ जना कृषि फार्मको आवासभित्र छन् । उनीहरू बसेको घरबाहिर हतियारधारी हमासको समूहले घेरा हालेर राखेको छ,’ राजदूत रिजालले भनिन् । आफूहरू पनि कर्फ्यु लागेका कारण निवासबाट बाहिर निस्किन सक्ने अवस्था नरहेको उनले बताइन् ।

एक जना नेपाली विद्यार्थी आफू आक्रमणमा परी घाइते भएको र उपचारको पर्खाइमा रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ, इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले समस्यामा परेका नेपालीलाई दूतावास र संघको सम्पर्कमा आउन आग्रह गरिएको बताए । संघले शनिबार एक सूचना जारी गर्दै इजरायली सरकारले जारी गरेको सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ । शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको हो । हमासको आक्रमणमा इजरायलतर्फ केही हताहतीसमेत भएको खबर सार्वजनिक भएका छन् । बीबीसीले हमासको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ । ७४० जना घाइते भएको समाचारमा उल्लेख छ । त्यस्तै इजरायलले गरेको जवाफी हवाई आक्रमणमा १६१ जना प्यालेस्टाइनी मारिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

हमासका हतियारधारी व्यक्ति दक्षिणी इजरायलमा अचानक प्रवेश गरेर आक्रमण गरेको इजरायलको भनाइ छ । हमास नेता मोहम्मद डेफले शनिबार बिहान इजरायलतर्फ करिब ५ हजार रकेट आक्रमण गरेको बताएका छन् ।
पछिल्लो पटक २०२२ को अगस्टमा इजरायली सेनाले प्यालेस्टिनी विद्रोही अखडामा हवाई आक्रमणमा गर्दा कम्तीमा ४४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्