उर्लाबारी, असोज २० । मोरङको उर्लाबारीस्थित शान्तिक्षेत्र आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने स्विटर प्रदान गरिएको छ ।

विद्यालय हातामा शनिबार आयोजित एक कार्यक्रमकाबीच लब्धप्रतिष्ठित समाजका अगुवाले विपन्न अभिभावकका छोराछोरी अध्ययन गर्ने सो विद्यालयका विद्यार्थीलाई स्विटर प्रदान गरेको शिक्षक टिकाराम उप्रेतीले जानकारी दिए ।

उर्लाबारी नगरका पूर्व नगर सदस्य तथा समाजसेवी छत्रबहादुर कार्कीले सो विद्यालयमा अध्ययन गर्ने ७२ जना छात्र—छात्रालाई स्विटर प्रदान गरेका हुन् । सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढाउन र विपन्न परिवारका अभिभावकलाई राहत होस् भन्ने उद्देश्यले विद्यार्थीलाई स्विटर प्रदान गरिएको उनले बताए ।
उर्लाबारी –७ मा बसोबास गर्दै आएका समाजसेवी कार्कीले स्वर्गीय श्रीमती मन्जु कार्कीको पाँचौ वार्षिक पुण्यतिथिको अवसर पारेर शान्तिक्षेत्रका ७२ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको विद्यालय प्रशासनले जनाएको छ । उनले विगत ५ बर्षदेखि उर्लाबारीमा रहेका सामुदायिक विद्यालयहरुमा विभिन्न रचनात्मक सहयोग गर्दै आएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रम उर्लाबारी नगरका पूर्व नगर विकास अध्यक्ष केशव कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । स्थानीय समाजसेवी डम्बर बराल, उत्तरबहादुर रोक्कालगायतको सहभागिता रहेको कार्यक्रममा अभिभावकको पनि बाक्लो उपस्थिति थियो । विद्यालयका प्रधानाध्यापक पदमबहादुर खुलालले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक टिकाराम उप्रेतीले गरेका थिए ।

दुई वर्षअघि मात्र न्यून संख्यामा विद्यार्थी रहेको सो विद्यालयमा ८ जना शिक्षक कार्यरत थिए । स्थानीय अभिभावकका अनुसार २ शिक्षकलाई एक विद्यार्थी संख्या थियो । ‘शिक्षक, अभिभावकसहित शिक्षा सेवा आयोग पास गरेर नयाँ ‘पोस्टिङ’ भएर आएका शिक्षकको तदारुकताका कारण निजी विद्यालयबाट विद्यार्थीहरु आएका कारण विद्यार्थीको संख्या ह्वात्तै बढेको हो,’ स्थानीय अभिभावकले भने । उनीहरुका अनुसार अन्तर सामुदायिक र निजी विद्यालयबाट गत दुई शैक्षिक सत्रमा ९७.१२ प्रतिशत विद्यार्थी शान्तिक्षेत्रमा आएका छन् ।
सामाजिक अगुवाको नजरमा यो विद्यालय परेपछि अर्को वर्षदेखि विद्यार्थीको चाप बढ्नेमा शिक्षक र अभिभावक आशावादी छन् ।

अहिले सो विद्यालयमा कक्षा १ देखि ५ सम्म पूर्ण अंग्रेजी माध्यममा अध्ययन अध्यापन भइरहेको छ । ०८१ को शैक्षिक सत्रमा कक्षा ६ पनि अध्ययन अध्यापन हुने सो विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्