झापा,असोज २० । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो जुरोपानी सेवाकेन्द्रमा केही अराजक व्यक्तिहरुले आतंक सिर्जना गरेकोमा त्यसको घोर निन्दा गरेको छ ।

असोज ९ गते “राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियान” नामक संस्थाका तर्फबाट सहकारीका कर्मचारीहरुलाई धाक धम्की दिने, कर्मचारीको बाल बच्चा तथा परिवारमा समेत आतंक सिर्जना हुने खालका अभिव्यक्तिसहित सहकारी संस्थाका सेवाकेन्द्रमा घेराउ गर्ने, सदस्यले लिएको कर्जा मिनाहा गर्नुपर्ने, धितो सुरक्षण राखी कर्जा लिएर समयमा ऋण नतिर्ने व्यक्तिहरुलाई समेत तागेता गर्न नहुने भन्दै केही अराजक व्यक्तिहरुले आतंक सिर्जना गरेको जनाइएको छ । त्यसप्रति घोर आपत्ति जनाउँदै संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले प्रेस विज्ञप्ति जारी गरेका छन् ।

उनीहरुले संस्थाप्रति कुनै गुनासो वा सल्लाह सुझाव दिनु परेमा संस्थाको मुख्य कार्यालय बिर्तामोडमा आई जिम्मेवार पक्ष वा सञ्चालक समितिसमक्ष खुल्ला छलफल तथा वार्तामा आउन आह्वान समेत गरेका छन् । साथै “राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियान“ विधिवत दर्ता भई सञ्चालन भएको संस्था हो भने सो संस्थाको विधानको उद्देश्यअनुरुप यस्ता गतिविधि सञ्चालन भएको हो वा विधानविपरित गतिविधि भईरहेको विषयमा उक्त संस्था दर्ता गरिदिने नेपाल सरकारको सम्बन्धित निकायको समेत विज्ञप्तिमार्फत ध्यानाकर्षण गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्