एजेन्सी । एडेन माक्रमले विश्वकप क्रिकेट इतिहासकै सबैभन्दा छिटो शतक बनाउँदा दक्षिण अफ्रिकाले शनिबार श्रीलंकामाथि कीर्तिमानी स्कोरसहित १ सय २ रनको विजय हात पारेको छ । दक्षिण अफ्रिकाले ५ विकेट गुमाई ४ सय २८ रन बनायो, जुन विश्वकपको उच्च योगफल हो ।


अस्ट्रेलियाले सन् २०१५ मा पर्थमा अफगानिस्तानविरुद्ध यसअघि ४ सय १७ रन बनाएको थियो । दक्षिण अफ्रिकाको स्कोर एकदिवसीय अन्तर्राष्ट्रियकै नवौं उच्च स्कोर हो । माक्रमले ५४ बलमा १ सय ६ रन बनाए । उनले ४९ बलमै शतक बनाएर विश्वकपको सबैभन्दा छिटो शतकमा आफ्नो नाम लेखाए । आयरल्यान्डका केभिन ओ’ब्राइनले २०११ मा बेंगलुरुमा इंग्ल्यान्डविरुद्ध ५० बलमा शतक बनाएका थिए ।

माक्रमले कुल १४ चौका र ३ छक्का प्रहार गरे । दक्षिण अफ्रिकाबाट शतक बनाउने उनी एक्लो थिएनन् । रोसी भान डेर डुसेनले १ सय ८ र क्विन्टन डी ककले पनि १ सय रन बनाएका थिए । विश्वकपमा पहिलो पटक एकै इनिङ्समा तीन शतक सम्भव भएको थियो । जबाफमा आएको श्रीलंकाले केही प्रतिरोध गरे पनि टोली ४४.५ ओभरमा ३ सय २६ रनमै अलआउट भयो ।

मेहदीको अलराउन्ड प्रदर्शन
ब्याट र बल दुवैमा मेहदी हसन मिराज चम्किएपछि बंगलादेशले धर्मशालामा भएको दिनको खेलमा अफगानिस्तानमाथि ६ विकेटको विजय पायो । अफ स्पिनर मिराजले २५ रन खर्चेर ३ विकेट लिएपछि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १ सय ५६ रनमा अलआउट भयो ।

कप्तान सकिब अल हसनले पनि ३० रन खर्चेर ३ विकेट लिएपछि अफगानिस्तान संकटमा परेको थियो । एक समय ४७–१ हुँदै ११२–२ को राम्रो स्थितिमा रहेको अफगानिस्तानले अन्तिम ८ विकेट ४४ रनमा गुमाएको थियो । चार वर्षअघिको पछिल्लो विश्वकपमा पनि शकिबले अफगानिस्तानविरुद्ध २९ रन खर्चेर ५ विकेट लिएका थिए । अफगानिस्तानबाट ओपनर रहमनुल्लाह गुरबाजले ४७ रन बनाएका थिए ।

दुई पटक जीवनदान पाएका मिराजले त्यसपछि ५७ र नोजमुल हुसैन सान्तोले अविजित ५९ रन बनाएपछि बंगलादेशले १५ भन्दा बढी ओभर बाँकी रहँदै खेल जितेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्