झापा,असोज२१।दसैँमा नै चलचित्र प्रदर्शन गर्न निर्माता निर्देशकहरूबिच होडबाजी चल्ने गरेको छ । चलचित्रले बजार लिए पनि नलिए पनि प्रायः सबै निर्माता निर्देशक दसैँलाई लक्षित गरेर आफ्नो चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेका छन् । अन्य समयको तुलनामा चाडपर्वका बेला चलचित्र धेरै चल्ने चलचित्रकर्मीहरूको बुझाइ छ ।यही मेसोमा दसैँको फूलपातीमा चलचित्र ‘भस्मे डन’ प्रदर्शन हुँदै छ । चलचित्र ‘पशुपति प्रसाद’ को दोस्रो शृङ्खला हो र धेरैले यसले राम्रै व्यापार गर्ने अनुमान गरेका छन् । चलचित्रको विदेशमा समेत बुकिङ हुन थालिसकेको छ । चलचित्रलाई दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेको टिमले बनाएको हो । सोही मितिमा टाइगर श्राफ अभिनीत हिन्दी चलचित्र ‘गणपत’ र दक्षिण भारतीय अभिनेता थलापति विजय स्टारर ‘लियो’ पनि प्रदर्शन हुँदै छ । यी तीनवटै निकै प्रतीक्षित चलचित्र हुन् । यी तीनवटै चलचित्रमा सबैको आँखा भने भस्मे डनमा नै अडिएको छ । दुई चलचित्रले नेपाली चलचित्रको व्यापारमा अवश्य नै असर त गर्छ तर ‘वर्ड अफ माउथ पब्लिसिटी’ राम्रो गर्ने हो भने ‘पशुपति प्रसाद २’ र ‘भस्मे डन’ को व्यापारले अवश्य नै बाजी मार्न सक्छ । निर्देशक दीपेन्द्र के खनाल चलचित्र चल्ने नचल्ने भन्ने कुरा दर्शकमा भरपर्ने बताउछन् । “चलचित्रलाई केही दिन असर पर्ला किनकि सोहरू बाँडिन सक्छन् तर केही दिनपछि भने चलचित्रले अवश्य ‘हाइप’ लिन्छ ।” त्यस्तै असोज २६ गते नारायण रायमाझी निर्देशित ‘परदेशी २’ र ‘बासेन्जी’ प्रदर्शन हुँदै छ । चलचित्र परदेशी र गोर्खापल्टन जस्ता राम्रा चलचित्र दर्शकलाई दिइसकेका रायमाझीसामु ‘परदेशी’ को दोस्रो शृङ्खलाबाट पनि राम्रै चर्चा बटुल्ने आशा गरिएको छ । गायक प्रकाश सपुतको डेब्यु चलचित्र भएको हुनाले पनि चलचित्रबाट धेरै आशा गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्